रावलको उम्मेद्वारीमा ओलीले बोलेपछि एमालेमा थप तरंग, रावल चर्चामा


ओकेजनता डेस्क
८ मंसिर २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेको आसन्न दशौँ महाधिवेशनको सरगमी बढ्दै गएको छ । चितवनमा यहीँ मंसिर १०–१२ मा हुन लागेको महाधिवेशनको तयारी तीब्र रुपमा भइरहेको छ ।

यसपालिको महाधिवेशनलाई ऐतिहासिक बनाउनका निम्ति पनि एमाले भरपूर लागिरहेको छ । भर्खरै विभाजन भएको एमालेका लागि एकताको सन्देश दिन यो महाधिवेशन महत्वपूर्ण मानिएको छ । एमालेले सकेसम्म पदाधिकारीको नेतृत्वलाई सर्वसम्मत बनाएर दशौँ महाधिवेशनबाट एकताको सन्देश प्रवाह गर्न खोजेको छ ।

यतिबेला एमालेमा विभिन्न पदका निम्ति आकांक्षी धेरै देखिएका छन् । पदाधिकारीमा पनि प्रतिस्पर्धा हुने पक्का छ । एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टी अध्यक्षमा आफ्नो उमेद्वारी दिने घोषणा गरिसक्नु भएको छ । रावलको यो उम्मेद्वारीलाई दुई अर्थमा लिन थालिएको छ ।

रावलको उम्मेद्वारी किन ?
भीम रावल नेकपा एमालेको उपाध्यक्ष, पूर्व गृह, रक्षा, उपप्रधानमन्त्री भइसकेको नेता हुन । कुनै पनि पार्टीमा लागेका नेताहरुले आफ्नो राजनीतिककालमा विभिन्न आकांक्षा राखेका हुन्छन् ।

एकथरीले रावललाई पदको बार्गेनिङ गर्न उम्मेद्वारी दिएको बताउँदै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि रावलको उम्मेद्वारीलाई सम्मनजनक रुपमा लिएको बताइसकेका छन् । यो अर्थमा पनि रावलले अब पदमा सौदाबाजी गर्लान त ? भन्ने प्रश्न उब्जिएको छ ।

अर्कोथरीले डा. रावलले माधव नेपालको स्थान बनाउनका निम्ति उम्मेद्वारी बताउँदै आएका छन् । एमालेको दशौँ महाधिवेशन हुँदै गर्दा यसबाट धेरैका मन अमिलिन सक्ने, पार्टीमा मतभेद र अन्तरविरोध हुने भएकोले केही नेताहरु आफूसँग आउने रावलको विश्वास छ ।

यता, चितवनमा शुक्रबार शुरु हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन दुई दिन बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू दुई धारमा देखिएका छन् ।

कतिपय नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गर्दै आएपनि निर्वाचनको सम्भावना बढेसँगै ओली निकट नेताहरू पनि विभाजित हुन पुगेका हुन् । अध्यक्ष पद छोडेर बाँकीमा प्रतिस्पर्धा गर्ने गरी दुई धार बन्न पुगेको एक नेता बताउँछन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतदानको माध्यमबाट पदाधिकारी टुंग्याउने अवस्थामा आफूले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकतामा आफ्नो उम्मेदवारी भर पर्ने बताउँदै आएका नेम्वाङले सोमबार वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् ।

लगत्तै ओली निकट अर्का नेता महेश बस्नेतले पनि पत्रकार सम्मेलन गरी सचिव पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । स्रोतका अनुसार, नेम्वाङ र बस्नेतले योजना बनाएरै मुख खोलेका हुन् ।

आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेपछि विकसित घटनाक्रमसँगै ओली पक्षभित्र दुई धार रहेको सार्वजनिक भएपनि नेताहरूबीच बेमेल भने निकै पहिलेबाटै देखिन थालेको थियो ।

बस्नेतले यसअघि नै आफ्नो आकांक्षा सार्वजनिक गर्दै आएपनि नेम्वाङको अभिव्यक्ति अर्थपूर्ण छ । अझ वरिष्ठ उपाध्यक्ष पदमै दावी सार्वजनिक गरेकाले यसलाई चासोका साथ हेरिएको छ । गएको १५–१७ असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको थियो ।

आठौं महाधिवेशनदेखि बहुपदीय प्रणालीको अभ्यास गर्दै आएको एमालेमा ईश्वर पोखरेलकै निम्ति यो पद सिर्जना गरिएको आँकलन थियो । अध्यक्ष पदमा दावी नगर्ने घोषणा गरेकाले पनि पोखरेल निर्विरोध वरिष्ठ उपाध्यक्ष भन्ने प्रचार गरिएको थियो । तर नेम्वाङले पनि दावी गरेकाले अब पोखरेलले मतदानको सामना गर्नुपर्ने परिस्थिति देखिन्छ । ‘यो व्यक्तिगत आकांक्षाको संयोग मात्रै होइन । पार्टीभित्र विकसित दुई धारको संकेत हो’, अर्का नेता भन्छन् ।

ती नेताका अनुसार, पोखरेल र नेम्वाङको नेतृत्व रहने गरी नेताहरू दुई धारमा उभिन पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्