अफगानी महिलालाई फेरि यसरी कसियो


ओकेजनता डेस्क
६ मंसिर २०७८, सोमबार

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिःबन्ध बिस्तार गर्दै लगेको छ । पछिल्लो नियमअनुसार तालिबानले महिलाहरुलाई टेलिभिजन ड्रामा (टेलिशृङ्खला वा टेलिचलचित्र) मा अभिनय गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

यस्तै महिला पत्रकार तथा समाचार वा अन्य कार्यक्रम प्रस्तोताहरुलाई पनि टेलिभिजनमा प्रस्तुत हुँदा अनिवार्य रुपमा टाउको छोप्ने लुगा (हिजाब) लगाउन तालिबानले आदेश दिएको छ ।

गएको अगस्टको मध्यमा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको हो । उनीहरुले सुरुमा आफूहरु परिवर्तन भएको र महिलासहितको अधिकार रक्षा गर्ने बताएका थिए । तर एकपछि अर्को गर्दै तालिबानले महिला लक्षित कडा प्रतिबन्धात्मक नियम लागू गरिरहेको छ ।

इस्लामिक विद्रोही समूह तालिबानले अमेरिकी सैनिकको अन्तिम टोली बाहिरिएसँगै सत्ता कब्जामा लिएर छात्रा तथा युवतीहरुलाई विद्यालय नगई घरमै बस्न आदेश दिएको थियो । सन् १९९० को दशकमा सत्तामा रहँदा तालिबानले महिलाहरुलाई विद्यालय जान तथा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

अहिले बालिकाहरुलाई विद्यालय जान रोक्ने विश्वको एकमात्र देश अफगानिस्तान बनेको छ । तालिबानले यो प्रतिबन्ध अल्पकालीन रहेको र विद्यालय तथा कार्यक्षेत्र बालिका–महिलाहरुका लागि सुरक्षित रहेको निश्चित भएपछि प्रतिबन्ध हट्ने दाबी गरेको छ ।

तालिबानले पछिल्लोपटक जारी गरेको नयाँ नियममा महिलाहरुलाई टेलिभिजन चलचित्र वा शृङ्खलामा भाग लिन नदिने तथा पुरुषहरुले पनि आफ्नो संवेदनशील अंगहरु देखाउन नपाउने उल्लेख छ ।

धर्म तथा अफगानहरुलाई अपमान गरिएका हाँस्य वा मनोरञ्जनात्मक कार्यक्रम पनि प्रशारण गर्न नपाइने, विदेशी संस्कृतिको बढावा दिने खालका विदेशी चलचित्रहरु प्रशारण गर्न नपाउने नियम लागू गरिएको हो ।

अफगानिस्तानका टेलिभिजनहरुले अधिकांश रुपमा मुख्य भूमिकामा महिला रहेका विदेशी ड्रामा देखाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्