विद्यालयको शुल्क नतिर्दा खुट्टा भाच्ने प्राचार्य !


ओकेजनता डेस्क
२२ भाद्र २०७७, सोमबार

नवलपरासी । रुपन्देहीको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालको सर्जिकल वार्डको बेड नम्बर २०८ मा छन् नवलपरासी पश्चिम सुस्ता गाउँपालिका ३ पत्थरकलाका कृष्णप्रसाद शर्मा । छोरा पढाउँदा लागेको ऋण तिर्न नसकेपछि गाउँकै प्राचार्य दीपक कुँवरले शर्माको खुट्टा भाँचिदिएका थिए ।

छोराहरुलाई पढाउँदा लागेको शिक्षण शुल्क नतिरेपछि पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ रानीनगरस्थित उज्ज्वल शिशु इंग्लिस बोर्डिङ स्कूलका सञ्चालक एवं प्राचार्य दीपक कुँवरले कृष्णप्रसाद शर्माको खुट्टा भाँचिने गरी कुटपिट गरेका छन् । घटना गत साउन २८ गतेको हो । २८ गते देखि लुम्बिनी सिटी अस्पतालमा शर्माको उपचार भइरहेको छ । हालसम्म २ लाख ५० हजार भन्दा बढि रकम खर्च भइसकेको छ । चिकित्सकले भदौ १९ गते डिस्चार्ज दिएपनि शर्मा डिस्चार्ज हुन सकिरहेका छैनन् । आर्थिकस्थित कमजोर भएपछि अस्पतालको रकम तिर्न नसक्दा शर्माले बेड छोड्न सकिरहेका छैनन् ।

साउन २८ गते रानिनगर बजारमा भान्साकोठाको सामान लिन जाँदै गर्दा प्राचार्य कुँवरले कृष्णलाई कुटपिट गरेका थिए । कृष्णका दुई छोरा राम र लक्ष्मणले उज्ज्वल शिशु इंग्लिस बोर्डिङ स्कूलमा कक्षा १० मा पढ्दाको ३५ हजार बुझाउन बाँकी छ ।

पीडितले भदौ ९ गते जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीको कावासोतीमा अङ्गभङ्ग सम्बन्धि मुद्धा दर्ता गरेका छन् । मुद्धा दर्ता भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको र पीडकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्