प्रधानमन्त्री देउवाले उद्घाटन गरेका रामदेवको टिभी कारबाहीमा


ओकेजनता डेस्क
४ मंसिर २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय बाबा रामदेवले सञ्चालन गर्ने भनिएका दुई टिभी च्यानलको शुक्रबार उद्घाटन गरे । तर, ती दुवै च्यानलले नेपालमा आधिकारिकता इजाजत नलिएको पाइएको छ ।

काठमाडौंस्थित पतञ्जली योगपीठको आश्रम, मण्डिखाटारमा हिजो टेलिभिजन च्यानल उद्घाटन समारोहमा प्रधानमन्त्री, गृहमन्त्रीलगायतका मन्त्री र प्रचण्ड, माधव नेपाललगायतका शीर्ष नेता उपस्थित थिए ।

नेपालमा कुनै पनि टिभी च्यानल सञ्चालन हुनुअघि सूचना तथा प्रशारण विभागमा दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ । प्रधानमन्त्री देउवाले उद्घाटन गरेका ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टिभी विभागमा दर्ता भएको रेकर्ड छैन । दर्ता नभएको मात्र होइन, दर्ताका लागि निवेदनसमेत नआएको विभागले जनाएको छ ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालले टिभी दर्ता नभएको पुष्टि गरे । उनले भने, ‘तपाईंहरुजस्तै मैले पनि मिडियाबाट टिभीको उद्घाटन भएको भन्ने खबर पाएँ । तर, अहिलेसम्म उल्लेखित नामका कुनै पनि टिभीले अनुमति लिएका छैनन् ।’

‘यत्रो मिडियामा आइसकेपछि उजुरी नै आउँनुपर्छ भन्ने छैन । यस्तो अवस्थामा उजुरी आएन भनेर विभाग चुप लागेर बस्दैन । प्रशारण भएको रहेछ कि के रहेछ बुझेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउछौ ।’ – सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमाल

आज शनिबार भएकाले भोलि कार्यालय खुल्नेबित्तिकै यस विषयमा छलफल गर्ने उनले जानकारी दिए । ‘हामी यसबारेमा बुझेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौ,’ उनले भने ।

तीन दुवै नामका टिभीको दर्ताका लागि निवेदन आएको आफूलाई जानकारी नरहेको उनले बताए । ‘निवेदन दिइहाले पनि कहाँ टिभी प्रशारण गरिहाल्न पाइन्छ र ? निवेदन दिएर मात्र भएन, हातमा अनुमतिपत्र प्राप्त गरेपछि मात्र टिभी प्रशारण गर्न पाइन्छ ।’

यस विषयमा अहिलेसम्म कुनै पनि उजुरी नआएको विभागले जनाएको छ । विभागमा उजुरी नपर्दासम्म केही कारवाही हुँदैन भन्ने प्रश्नमा महानिर्देशक हमालले भने, ‘यत्रो मिडियामा आइसकेपछि उजुरी नै आउँनुपर्छ भन्ने छैन ।

यस्तो अवस्थामा उजुरी आएन भनेर विभाग चुप लागेर बस्दैन । प्रशारण भएको रहेछ कि के रहेछ बुझेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौ ।’

प्रतिक्रिया दिनुहोस्