अमेरिकी राष्ट्रपति मत सर्वेक्षण र चुनावी अभियान


ओकेजनता डेस्क
१७ आश्विन २०७७, शनिबार

राष्ट्रपतिले कुन चुनावी अभियान छुटाउन सक्छन् ?


अक्टोबर १ मा कोरोना भाइरस देखिएको दिनदेखि १० दिनसम्म ट्रम्प एकान्तबासमा बस्नुपर्नेछ ।

त्यसैकारण अक्टोबर १५ मा तय गरिएको दोस्रो राष्ट्रपतीय बहसमा उनी सहभागी हुन सक्ने सम्भावना अझै जीवितै छ ।

शुक्रवारका लागि फ्लोरिडामा तय गरिएको एउटा ¥याली रद्द गरिएको छ ।

उनले जोखिमयुक्त उमेर समूहका बरिष्ठ व्यक्तिहरूसँगको एउटा भिडिओ संवाद समेत रद्द गरे ।

यसबीचमा ट्रम्पका लागि तय गरिएका अन्य ¥यालीहरू समेत अहिलेलाई कि रद्द हुनेछन् या त पर सारिनेछन् ।

कस्तो अवस्थामा चुनाव सर्न सक्छ ?


ट्रम्पको एकान्तवासको समयले चुनावी अभियानमा उनको क्षमतामा असर पार्नेछ ।

त्यसैले चुनाव सार्ने विकल्प र त्यसको प्रक्रियाका कुरा समेत चल्न थालेका छन् ।

कानुनतः अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्येक चार वर्षमा नोभेम्बरको पहिलो सोमवारपछि आउने मङ्गलवार हुनेगर्छ ।

त्यसरी नै यसको मिति यो वर्षको ३ नोभेम्बरलाई तय गरिएको हो । तर चुनाव सार्ने कुरा राष्ट्रपतिको बसमा नभइ सांसद्हरूमा निर्भर छ ।

त्यसको लागि अमेरिकी संसद्को दुवै सदनमा बहुमत आवश्यक पर्छ । डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदनको अवस्थाले गर्दा त्यस्तो सम्भावना न्यून देखिन्छ ।

मिति परिवर्तन नै भएछ भने पनि राष्ट्रपतिको कार्यकाल चार वर्षमा सिमित रहन्छ । जसले गर्दा २० ज्यानुअरी, २०२१ को मध्यान्नमा ट्रम्पको कार्यकाल स्वभाविक रूपमा सकिन्छ ।

राष्ट्रपति ट्रम्प काम गर्न नसक्ने भएमा के हुन्छ?


हाललाई बताइए अनुसार ट्रम्पले ’सामान्य लक्षण’हरू अनुभव गरिरहेका छन् । तर काम नै गर्न नसक्नेगरी उनी बिरामी परिरहे भने संविधानमा केही व्यवस्थाहरू छन् ।

२५औँ संशोधनले राष्ट्रपतिलाई उपराष्ट्रपतिसमक्ष शक्ति हस्तान्तरणको बाटो खोलेको छ । जसको अर्थ माइक पेन्स कार्यवाहक राष्ट्रपति हुनेछन् । ट्रम्प निको भएपछि पुनः काममा फर्कन सक्नेछन् ।

यदि राष्ट्रपति निकै नै अस्वस्थ भएर शक्ति हस्तान्तरण गर्न सकेनन् भने मन्त्रिपरिषद् र उपराष्ट्रपतिले उनी काम जारी राख्न नसक्ने घोषणा गर्न सक्नेछन् ।

र राष्ट्रपतिको भूमिका पेन्समाथि हुनेछ । यदि माइक पेन्स पनि काम गर्न नसक्ने अवस्थामा पुगे भने राष्ट्रपतिलाई विस्थापित गर्ने एउटा कानुन अनुसार त्यो भूमिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीसम्म पुग्नेछ ।

पेलोसी डेमोक्र्याट नेता भएकाले त्यस्तो अवस्था आएमा कानुनी असहजताहरू निम्तिन सक्ने संविधानविद्हरूको भनाइ छ ।

यदि सभामुखले समेत काम गर्न नसकेमा राष्ट्रपति पद बरिष्ठ रिपब्लिकन सांसद्सम्म पुग्नेछ । जो यतिखेर ८७ वर्षीय चाल्स इ ग्रास्ले छन् । यो अवस्थामा समेत कानुनी जटिलताहरू हुन सक्छन्।

के विगतमा राष्ट्रपतिहरू भूमिका छाडेर बसेका छन् ?

सन् १९८५ मा राष्ट्रपति रोनल्ड रेगन क्यान्सर शल्यक्रियाका लागि अस्पतालमा भर्ना हुँदा उपराष्ट्रपति जर्ज एचडब्लु बुसलाई जिम्मेवारी दिएका थिए ।

सन् २००२ र २००७ मा राष्ट्रपति जर्ज डब्लु बुसले आफ्ना उपराष्ट्रपतिलाई त्यसैगरी जिम्मेवारी सुम्पेका थिए ।

जतिखेर बुस कोलोनोस्कोपी भनिने ठूलो आन्द्राको अवस्था बुझ्ने एउटा नियमित जाँचहरूमा सहभागी भएका थिए ।

बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्