सुदूरपश्चिमका तीन जिल्लामा विमान उड्दै


ओकेजनता डेस्क
१७ आश्विन २०७७, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा नियमित विमान चल्ने बताएका छन् ।

शनिबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भट्टराईले तत्काल पहाडका ३ जिल्लामा विमान पुग्ने र बाँकी जिल्लामा पनि विमान पुर्याउने योजना रहेको बताएका हुन् ।

पहाडी ३ जिल्लाको हवाई उडान सेवाको परीक्षण उडानका लागि धनगढी पुगेका मन्त्री भट्टराईले पहिलो चरणमा बैतडी, डोटी र बझाङमा विमान सुरु हुने र त्यसलगत्तै दार्चुला र अछाममा पनि सुरु गर्ने योजना सुनाए ।

बैतडी, डोटी र बझाङमा सातामा २ दिन विमान पु¥याउने लक्ष्य रहेको उनले बताए । उनले सुदूरपश्चिम प्रदेशमा पहाडी जिल्लामा विमान सुरु भए सहज हुने विश्वास व्यक्त गरे । उनले परीक्षण मात्रै नभई नियमित उडानसमेत हुने दाबी गरेका छन् ।

शनिवार मन्त्री भट्टराई सहित १६ जना यात्रु लिएर धनगढीबाट जहाज डोटी पुगेको छ । टोलीमा मन्त्री भट्टराईसहित संघीय सांसद प्रेम आलेमगर, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री, अनेरास्वयीयूका संयोजक ऐन महर लगायत समेत रहेका छन् ।

शनिवार नै डोटी, बैतडी र बझाङमा समेत परीक्षण उडानको उदघाटन हुने मन्त्री भट्टराईले बताए ।

टोलीमा रहेका प्रतिनिधि सभा सदस्य प्रेम आलेले पहाडी जिल्लामा नियमित उडान सुरु भए पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए । उनले आफूले विमान सुरु गर्न पटक–पटक संघीय सरकारलाई आग्रह गरेकोसमेत बताए ।

‘मैले सुरुबाटै पहाडी जिल्लामा विमान सुरु गर्नुपर्छ भनेर सरकारलाई आग्रह गर्दै आएको छु’ उनले भने, ‘अहिले परीक्षण उडान हुँदै छ । अब नियमित हुने छ ।’

प्रतिक्रिया दिनुहोस्