जुन व्यवस्था आओस्, कुमाललाई छोएन


ओकेजनता डेस्क
२२ भाद्र २०७७, सोमबार

दाङ । एउटा ‘कुमाल गाउँ’ । काँचो माटोलाई आकार दिन्छन् । आगोमा पोल्छन् । अनि पाको भाँडा बनाउँछन् । गमला, कोशी, घैँटा, खुत्रुके, पाला, कस्तुरी, ठेकी, करुवा, थारु सँस्कारमा प्रयोग हुने हात्ती, घोडा, भुर्की, भकरी बन्छ। कुमालेको माटो संगको साइनो पुरानो छ। यो सम्बन्ध धेरै पुस्ता पार गर्दै बाउ, बाजे हुँदै छोरा नाति सम्म आईपुगेको छ ।

अब एउटा पुस्ताबाट अर्काे पुस्तामा सिप हस्तान्तरणको पर्खाइ छ । उमेर ढल्किएकाहरु चाहन्छन् छोरा नातिले यो पेशा गरुन् । तर, छोरा नातिको चाहना भने बेग्लै छ । यही कुमाल बस्तीका दुःखराम कुमालको दुःख अझैं सकिएको छैन । गढवा गाउँपालिका वडा नं. ६ निवासी ६७ वर्षीय दुःखराम अझै आफ्नो र परिवारको लागी काँचो माटोलाई आकार दिने काम गर्छन् ।

दुःखरामले यो चार–पाँच महिनाको बिचमा तयार पारेका माटोको भाँडा बिक्री भएको छैन । बनाएका माटोको भाँडा बिक्री नभएपछि घरमै थन्काएर राख्नु परेको छ । यो समस्या दुःखरामको मात्रै होइन, देउखुरीमा माटोको भाडाँ बनाउने कुमाल समुदायका सबैले भोगेका छन् । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दुःखरामले तयार पारेका माटोको भाँडाले बजार नपाएको हो ।‘बजार सबै बन्द छ । कहाँ लगेर बेच्ने’ दुःखरामले भने–‘गाडी चल्दैन । बजार खुल्दैन । गाउँमा बेच्न जाउँ हिड्न पाइँदैन ।’

संकटमा परेको माटाको भाडाँ बनाउने पुर्ख्यौली पेशालाई अहिलेसम्म बचाएका छन् । तर, उनका छोरा नातिले यो पेशाप्रति खासै चासो दिएका छैनन् । ‘खै पछि के गर्छन् । माटो खेलाउन मन गर्दैनन् । बाउ बाजेले यही सिकाए । हामीले त्यही ग¥यौं’ उनले भने–‘अहिले छोरा नातिलाई सिकाउन खोज्छौँ मन गर्दैनन् ।’

माटाको भाँडा बनाउने पेशा प्रति युवा पुस्तालाई आकर्षण गर्न सकिएको छैन् । कुमाल समुदायका एक(दुई जना युवाले आधुनिक प्रविधि अनुसार भाँडा बनाउने गरेका छन् । यी बाहेक अन्य युवा पुस्ताले चासो दिएको पाइएको छैन । बजारमा प्लास्टिकका भाँडाको चलन सुरु भएपछि माटाको भाँडा किन्नेहरुको संख्या घट्दै गएको छ । लकडाउन अघि फाट्ट फुट्ट भाँडा बिक्थ्यो । भाँडा लिन प्युठान, घोराही, तुलसीपुरका व्यापारी गढवा आउँथे । गाउँमा लगेर बेच्न सकिन्थ्यो । तर, लकडाउनले गर्दा यी सबै काम ठप्प छ । माटोको भाँडा बनाउन सजिलो भने छैन ।

कुमाले पेशा हस्तकला र सिपसँग जोडिएको व्यवसाय हो । मेहनत अनुसारको मूल्य भने छैन। माटोको भाँडामा पुनः आकर्षण बढाउन सक्ने हो भने यसको प्रयोग र फाईदा दुवै बढाउन सकिन्थ्यो । तर, यस तर्फ कसैको धान पुगेको छैन । ‘माटो लिन जंगल जानुपर्छ । धेरै टाढा छ । दाउरा त मुस्किलले पाईन्छ’दुःखरामले समस्या सुनाउँदै भने–‘माटो र दाउरा सजिलै पाउने हो भने बनाउन सकिन्थ्यो । फाईदा पनि लिन सकिन्थ्यो । तर, माटो र दाउरा जुटाउनै समस्या छ ।’

मेहनत र लगानी अनुसार मूल्य पाउँदैनन् । ठूलो घैँटा दुई सय रुपैयाँ, सानो घैँटा एक सय २० देखि तिन सयसम्म पर्छ । फूल राख्ने गमला ६० रुपैयाँमा बेच्ने गर्छन् । कुमाल समुदायका पाका उमेरका मानिसले लोप हुन लागेको पेशामा राज्यले लगानी गरेर संरक्षण गरिदिए नयाँ पुस्ताले उक्त पेशालाई अंगाल्ने थिए की भन्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्