काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाललाई राजीनामा दिन चौतर्फी दबाब आएपछि अन्ततः राजीनामा बुझाएका छन् । निर्दलीय व्यक्ति मन्त्री बनेको भन्दै कांग्रेस, एमाले, माओवादी लगायतले विरोध जनाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आडमा केही मन्त्रीले हमालको आवश्यकता रहेको बताएपनि उनलाई भित्रि रुपमा नैतिक संकट परिसकेको थियो । न्यायालयलाई भागबण्डामा मन्त्री सुम्पिएको आरोप लागेपछि हमाल राजीनामा दिन बाध्य भएका हुन् ।
हमालले राजीनामा नबुझाएपछि प्रधानमन्त्री देउवाले नै राजीनामा दिनुपर्ने स्थिति पैदा भइसकेको स्रोत बताउँछ । त्यसपछि लगत्तै प्रधानमन्त्री देउवाले उनलाई फोन गरेर राजीनामा दिन भनेका थिए ।
हमाललाई कुनै देशको राजदूत बनाएर पठाउने गरी मनाइएको स्रोत बताउँछ । देउवाले मन्त्रीबाट हटाएपछि उनी र मन्त्री सिफारिस गर्ने बीच मनमुटाव शुरु भएको छ ।
यो पनि पढ्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।
‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने ।
देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । ५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागबण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।
सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री मागेका थिए । सत्तारुढ दलका नेताहरुका अनुसार उनले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मागेका थिए ।
अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल बनेका छन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयं सत्तारुढ दलका नेताहरु बताउँछन् ।