ओली–बादल साँटगाँठ : यस्तो छ रहस्य !


ओकेजनता डेस्क
१५ आश्विन २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अहिले निकट भएका समाचार बाहिरिँदा उहाँहरुको निकटता सत्ता सञ्चालनसम्मका लागि मात्रै हो की ? बादलले अध्यक्ष पुष्पकमल दाहाल कित्ता छोडेका हुन् भन्ने विषय पेचिलो बनेको छ । यसअघि नेकपाका प्रभावशाली नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओली कित्ता सम्हालेपछि यो बहस पेचिलो बनेको हो ।

पछिल्लो समय सात दशकपछि कम्युनिष्टको इतिहासमा नयाँ वेग सिर्जना भएसँगै नेपालका दुई शक्तिशाली वामघटक एक भएलगत्तै अब कसको भविष्य कुन गुटमा केन्द्रीत हुन्छ भन्ने विषयमा चर्चा भइरहेको छ । अहिलेको अवस्थामा नेकपाभित्र केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालको छुट्टाछुट्टै शक्ति छ । त्यसमा पनि बादलले आफ्नै गुट चलाउनका निम्ति अभ्यास गर्नुभएको छ ।

नेपाली राजनीतिमा गुट–उपगुट हुनु सामान्य रुपमा लिइन्छ । यो विगतदेखिको नजीर हो । तर, आजको दिनसम्म आइपुग्दा नेकपाजस्तो विशाल पार्टीको नेतृत्व कसले गर्ने र को शक्तिशाली बन्ने भन्नेमा आन्तरिक अभ्यास भइरहेको पाइन्छ । पार्टीका शीर्षस्थ नेताहरुले आ–आफ्नो पक्षमा लबिङ गरिरहेका छन् । तर, अब हुने महाधिवेशनले मात्रै नेकपाको नेतृत्वलाई वैधानिकता दिने छ । अहिले सहमतिका आधारमा पार्टी सञ्चालन भइरहेको छ ।

पछिल्लो समय सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री ओली पक्षमा शक्ति केन्द्रीत भएको देखिन्छ । यद्यपि माधव कुमार नेपाल र दाहाल मिलाएर शक्ति दाहालको पोल्टामा केन्द्रीत हुन्छ । अबको नेकपाको भविष्य अर्थात् ओली–दाहालको मनोकांक्षा शीर्ष नेताहरुको फैसलामा भर परेको छ । को शक्तिशाली बन्ने र कसलाई साथ दिने भन्नेमा नेता, कार्यकर्ताको स्व–निर्णय आधार बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्