देउवाले आज मन्त्रिपरिषद् बिस्तार गर्दै, सपथका लागि तयार रहन फोन


ओकेजनता डेस्क
२१ आश्विन २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल बिस्तार गर्न लागेका छन् । तीन महिनापछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् । आज गठबन्धनका दलहरुले आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम बुझाइसक्नुपर्ने छ ।

अहिलेसम्म नेकपा माओवादी केन्द्रले मात्रै आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाएको छ । माओवादीबाट मन्त्री बन्नेमा देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्ने टुंगो लागेका हो ।

माओवादीबाट यसअघि दुईजना सरकारमा सहभागी भइसकेका छन् । अर्थमा जनार्दन शर्मा र उर्जा मन्त्रालयमा पम्फा भूसाल गइसकेकी छन् । माओवादीको भागमा ६ जना मन्त्री परेको थियो । जसमा ५ मन्त्री एक राज्यमन्त्री पठाउनुपर्ने थियो ।

एमालेमा विद्रोह गरेर देउवा सरकार गठनमा निर्णय भूमिका खेलेका माधव नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीले ६ जना मन्त्री पाउने छ । जसमा विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बन्ने छन् ।

एकीकृत समावादीबाट खतिवडाको नेतृत्व गर्ने विषय समेत टुंगिएको छ । एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि मन्त्री छनोटमा पार्टीभित्र कुनै समस्या नभएको बताए । प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न चाहँदा अब एकीकृत समाजवादीमा कुनै बाधा नरहेको उनको भनाइ छ ।

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राइलाई जिम्मा दिएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा पठाउने मन्त्री छनोटका लागि परामर्श भइरहेको जसपाका नेता महेन्द्र राय यादवको भनाइ छ । तर नेतात्रयले मन्त्री बन्ने नेताहरुको नाम टुंगाइसकेको जसपाको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ । अध्यक्ष यादव सरकारमा नगएको अवस्था नेता श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जानेछ ।

 

प्रतिक्रिया दिनुहोस्