एमालेका प्रभावशाली नेता नेकपा एसमा फर्किँदै, भोलि स्वागत


ओकेजनता डेस्क
२० आश्विन २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारी गरेका छन् ।

केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेरै पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन् । ‘१० बुँदे सहमति कार्यान्वय हुने अवस्था पनि देखिएन्,‘ एकीकृत समाजवादीमा जाँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा जोशीले भने, ‘त्यस विषयमा सोच्ने समय आइरहेको छ । तपाईंहरु भोलि थाहा पाउनुहुन्छ ।’ उनले पार्टी विभाजनपछि नेतृत्व सच्चिने आशा गरिएकोमा त्यस्तो हुन नसकेको बताए ।

समाचार स्रोतका अनुसार जोशीले एकीकृत समाजवादीमा रोज्ने लगभग पक्का भइसकेको छ । उनले सुदूरपश्चिममा आफूनिकट कार्यकर्तालाई एकीकृत समाजवादीमा सक्रिय हुन पनि आग्रह गरिसकेका छन् ।

नेकपा एमालेमै हुँदा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपाल समूहले केन्द्रदेखि देशैभर समानान्तर कमिटी गठन गरेको थियो । उक्त समयमा जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

एमालेभित्रको संघर्षका क्रममा साथ दिँदै आएका जोशीले भदौ २ गते एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्ने निर्णयमा भने नेपाललाई साथ दिएनन् । तर, उनले अध्यक्ष नेपाललाई भेटेर आफू एकीकृत समाजवादीमा नै लाग्ने बताएको समाचार स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्