प्रधानमन्त्री देउवाले ज्योतिषलाई फोन गरेपछि, मन्त्रिपरिषद् बिस्तार सर्यो


ओकेजनता डेस्क
२० आश्विन २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोह्र श्राद्ध सकिएपछि बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

ज्योतिषीको सल्लाहअनुसार बुधबारदेखि पितृपक्ष सकिने र दसैँ सुरु हुने शुभ साइत पारेर प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले दलहरुले पाउने मन्त्रालय र संख्याको बारेमा टुंगो लगाइसकेको छ ।

देउवाले असार २९ गते प्रधानमन्त्रीको शपथ लिए पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । उनले ८६औँ दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित सातवटा मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । माओवादी केन्द्रले ६ वटा मन्त्रालय पाउने छ। एकीकृत समाजवादीलाई पाँच र जसपाले चारवटा मन्त्रालयमा नेतृत्व गर्न पाउने भएका छन् ।

चारवटै दलले एक–एक जना राज्यमन्त्रीसमेत राख्ने सहमति जुटेको कांग्रेसका एक नेताले जानकारी दिए । बालुवाटारको सहमतिपछि दलहरुले मन्त्री छनोटका लागि आन्तरिक छलफल बढाएका छन् र लगभग मन्त्री हुने सांसदको पनि टुंगो लगाइसकेका छन् ।

कांग्रेसले यसअघि बालकृष्ण खाँडलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइसकेको छ ।

अब कांग्रेसले सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । बाँकी तीन मन्त्रालयमा कांग्रेसको रामचन्द्र पौडेलको कोटाबाट दुई र कृष्णप्रसाद सिटौला समूहबाट एकजना मन्त्री हुनेछन्। पौडेल समूहबाट मिनेन्द्र रिजाल र दिलेन्द्र बडूको सम्भावना बढी छ ।

माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री भइसकेका छन्। ऊर्जा तथा सिंचाइ मन्त्रालयको नेतृत्व पम्फा भुसालले पाएकी छन् ।

अब माओववादीलाई शिक्षा–विज्ञान तथा प्रविधि, भूमि व्यवस्था–सहकारी तथा गरिबी निवारण, उद्योग–वाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालय पाउने भएको छ । माओवादीबाट देवेन्द्र पौडेल मन्त्री बन्ने निश्चित जस्तै छ। हरिबोल गजुरेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको सम्भावना बढी छ ।

एकीकृत समाजवादीले रक्षा, पर्यटन तथा नागरिक उड्डयन, कानुन–न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास मन्त्रालय पाउने भएको छ ।

समाजवादीमा मन्त्रीको संख्या धेरै तर मन्त्रालय कम हुँदा कसलाई पठाउने भन्ने सकसमा अध्यक्ष माधवकुमार नेपाल परेका छन् । समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, राकुमारी झाँक्री, किसान श्रेष्ठ, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, भवानी खापुङ मुख्य दाबेदार छन् ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने भएको छ । जसपामा पनि आकांक्षी धेरै तर मन्त्रालयको संख्या थोरै हुँदा नेतृत्व समस्या परेको छ ।

मंगलबार बसेको जसपाका नेताहरुको बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्