एसएसपी श्याम खत्रीको पीडा, निर्दोष ठहरिए जेलबाटै अवकास


ओकेजनता डेस्क
१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए ।

पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ परेका थिए ।

सो मुद्दामा साधारण तारेखमा छुटेपछि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका खत्रीको नाम फेरि चूडामणि उप्रेती ‘गोरे’ले ल्याएको ३३ किलोमा जोडियो । दोस्रोपटक २०७५ जेठमा उनले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । सुनसरीस्थित झुम्का कारागारमा ३ वर्ष बस्दा खत्रीले त्यहिँ अवकाश पाए। जेल चलान हुँदा उनी डीआईजी बन्ने लाइनमा थिए ।

सोमबार मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले तस्करीको प्रमाण नपुगेको ठहर गर्दै खत्री सहित ३३ किलो सुनमा जोडिएका सवै प्रहरी अधिकृतलाई दिएका छन् । न्यायाधीश लम्सालले सनम शाक्य हत्या मुद्दामा ८ जनालाई कैद सजाय हुने फैसला सुनाएका छन् ।

जागिरमा रहँदा जेल गएका खत्रीले जेलमा अवकाश मात्रै पाएनन्, ३ वर्ष जेल बसेपछि उनि निर्दोष ठहरिएका छन् । श्याम खत्रीसँगै जेलमा थिए डिएसपी सञ्जय राउत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोष्टिङ भएका कारण तस्कर समूहलाई सहयोग गरेको आरोप लागेका राउत पनि ३ वर्ष थुनामा बसेपछि निर्दोष ठहरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्