ओली र राष्ट्रपति भण्डारीबीच टकराव : सीधै फोन गरेर यसो भनेपछि…


ओकेजनता डेस्क
१६ आश्विन २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन काठमाडौंमा सुरु भएको छ । महाधिवेशनमा देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरु काठमाडौं आएका छन् । विधान महाधिवेशन आज पनि जारी छ ।

शुक्रबार ललितपुरको गोदावरीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उद्घाटन गरेका हुन् । उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दागर्दै रुघाखोकीका कारण आफूलाई समस्या भएको जानकारी दिँदै आफ्नो लिखित सम्बोधन शंकर पोखरेललाई बाचन गर्न लगाएका थिए ।

विधान महाधिवेशनमा जस्तो दृष्य र उत्साह देखिनुपर्ने हो, त्यो हुन सकेन । सभाहल भित्र बाहिर ओलीको देवत्वकरण गरेका स्ट्याचु, तस्बिर देखिन्थे । यतिमात्र होइन पानीको बोतलमा समेत ओलीको तस्बिर टाँसिएको थियो ।

नेपाली कम्युनिष्टको इतिहास सुत्रपात गर्ने पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीका तस्बिर कार्यक्रममा देखिएनन् । एमालेका एक नेता झपट रावलले त फेसबुक वालमै लेखे–‘ म कार्लमाक्स लेनिन पुष्पलाल मदन र मनमोहन खोजिरहेको छु !’

शुक्रबार कार्यक्रमस्थलमा देखिएको दृष्यले एमालेका नेता, कार्यकर्ताहरुको मनमा चिसो पसेको छ । ओली निकट मानिने केही नेताहरुले डिजाइन गरेको बैठकको स्वरुपमा अन्य नेता कार्यकर्ता रुष्ट देखिएका छन् ।

जिल्लाबाट आएका एक नेताले ओकेजनतासँग भने, ‘आफूलाई कम्युनिष्ट हुनुमा अहिले लज्जाबोध भएको छ, पार्टीको सुत्रपात गर्ने नेताहरुलाई बिर्सिएर घर्तिमै भएको मानिसको स्ट्याचु तयार भयो ।’

शुक्रबारबाट शुरु भएको विधान महाधिवेशनको दृष्य र प्रवृत्ति राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत मन परेको छैन । उनले अग्रजहरुलाई बिर्सेर पार्टीमा गलत नजीर स्थापना भइरहेको प्रतिक्रिया दिएको स्रोतले बतायो ।

ओली प्रवृत्तिका कारण एमालेमा पुनः बिग्रह आउने खतरा बढेको छ । एमालेका उपाध्यक्ष भीम रावलले पनि १० बुँदे सहमति कार्यान्वयन नभए विद्रोह गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्