कैलालीको टीकापुर, खक्रौला, कालाकुण्डा, भजनीबाट व्यापक तस्करी


ओकेजनता डेस्क
११ आश्विन २०७८, सोमबार

काठमाडौं । भारतसँग सीमा जोडिएको कैलालीको टीकापुर, खक्रौला, भजनी र कालाकुण्डा नाकाबाट व्यापक तस्करी भइरहेको पाइएको छ । दशैँ तिहार नजिकिँदै गर्दा कैलालीका विभिन्न नाकामा कालोबजारी र तस्करीका घटना बढेको पाइएको हो ।

शनिबार राति मात्रै टीकापुर नगरपालिका वडा नम्बर ९ स्थित सत्ती भन्सार कार्यालय खक्रौलाले भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा बरामद गरेको छ ।

शनिबार राति ११ बजे टीकापुर नगरपालिका वडा नम्बर ८ अरुणाफाँटाबाट करिब १० लाख बराबरको कपडा बरामद भएको सत्ती भन्सारका नायब सुब्बा दिलिप कुँवरले जानकारी दिए ।

विशेष सूचनाको आधारमा बीओपी खक्रौला र सत्ती भन्सारको गस्ती टोलीले चोरी कपडा समातेको कुँवरले जानकारी दिए । समातिएको कपडामा धोती, साडी, कुर्ता, सर्टिङ सुटिङ रहेको जनाइएको छ ।

सो क्षेत्रबाट दिनदहाडै २०/२५ गाँठ कपडा बिना भन्सार नेपाल भित्रिने गरेको स्थानीयको भनाइ रहेको छ ।

यता, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले चोरी तस्करी गरेर ल्याइएका सामान समात्ने कार्य भइरहेको बताए । ओकेजनतासँग उनले भने, ‘हामी दैनिक चोरी निकासीबाट आउने सामाग्री समातिरहेका छौँ, भारतसँग सीमा जोडिएको भूभाग ठूलो छ, दिनदेहारै चोरीछिपी मानिसहरुको आवातजावत भइरहेको हुन्छ त्यसमा प्रहरीको निगरानी बढेको छ ।’

सापकोटाका अनुसार खैरीफाँटबाट पनि बेबारिसे अवस्थामा कपडा बरामद गरिएको हो । प्रहरी आएको सूचना थाहा पाएपछि तस्कर भागेको उनको भनाइ छ । प्रायः नाकाबाट मोटरसाइकलमा सामान राखेर चोरी भइरहेको छ ।

डिएसपी सापकोटाले फोन सम्पर्कमा भने, ‘तस्करी भएको थाहा पाउने बित्तिकै हामीलाई खबर गर्नुहोला, स्थानीय नागरिकको पनि सूचना गरिदिनु कर्तव्य हो ।’

स्थानीयका अनुसार स–साना व्यापारीलाई प्रहरीले निगरानी गरेपनि ठूला व्यापारीले सेटिङमा तस्करी गरिरहेका हुन्छन् । यसअघि पनि तस्करीका घटना बढिरहेको स्थानीयको आरोप थियो ।

चारैतर्फ सीमामा खुला भएपछि तस्करी मौलाएको छ । कालाकुण्डा र भजनीबाट विशेष गरी बढि तस्करी हुने गरेको पाइएको छ । स्थानीय व्यापारीले आफ्ना नजिकका मानिस खटाएर तस्करी गर्ने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्