कांग्रेसद्वारा थप पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक


ओकेजनता डेस्क
१० आश्विन २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ ।

सभापति शेरबहादुर देउवाले नाम दिएसँगै केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा थप ५ जिल्लाको नामावली प्रकाशित गरेको छ ।

सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची शनिबार नै प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ ।

क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न पाएको थिएन। भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन। अब क्रियाशील सूची आएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको छ ।

कांग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन। प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन ।

सम्भवत आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुने निर्वाचन समितिका एक सदस्यले बताए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले पटकपटक सहमति गरी क्रियाशील सदस्यता विवाद मिलाइरहेका छन् ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले छिट्टै क्रियाशील सदस्यताको सूची प्रकाशित गरेर दसैंअगाडि नै वडा र गाउँ÷नगर अधिवेशन गर्ने निर्णय गरेको थियो।

साथै वडा अधिवेशन भएका जिल्लाहरूमा गाउँ÷नगर अधिवेशन भएका छन्। शनिबारदेखि गाउँ÷नगर अधिवेशन भएका हुन् ।

२१ वटा हिमाली जिल्लामा कांग्रेसले प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र हुँदै असोज १८ भित्र जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। बाँकी जिल्लामा भने दसैंलगत्तै अधिवेशन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्