आज खड्का, पौडेल र झाँक्रीले मन्त्रीको सपथ लिँदै


ओकेजनता डेस्क
६ आश्विन २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्न नसक्दा मुलुक अस्थिरतामा धकेलिएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसदमा विरोध जनाइरहेको छ । समग्रतामा हेर्दा यतिबेला सरकार चौतर्फी निशानामा परेको छ ।

यही कुरालाई मध्येनजर गर्दै देउवाले आजै मन्त्रिपरिषद् बिस्तारको तयारी थालेका छन् । हिजै साँझ मात्र उनले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने सहमति जनाएका छन् । यद्यपि पार्टीमा कुनै छलफल नगरी मन्त्री बनाउन लागिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल रुष्ट भएका छन् ।

प्रधानमन्त्री देउवाले यही विषयमा आज छलफल गर्दैछन् । यता नेकपा एस र माओवादी केन्द्रले पनि मन्त्रीमा सहमति जुटाउने तयारी गरिरहेको छ ।

नेकपा एसले आजै रामकुमारी झाँक्रीलाई सरकारमा पठाउने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेल सरकारका जाँदैछन् । आज तीन जना मन्त्रीको सपथ हुने बुझिएको छ ।

लामो समयपछि मन्त्रिमण्डलले पूर्णता पाउने मेसो आएपनि अझै धेरै मन्त्रालय रित्तै हुँदा नियमित कामकाजमा समस्या भइरहेको छ । देउवाले अब भने दशैँ अगावै सबै मन्त्रालयमा मन्त्रीको नियुक्ति गरिसक्ने बताइएको छ ।

नवनियुक्त मन्त्रीहरुको आज साँझ ४ बजे सपथको तयारी गरिएको छ । अन्य मन्त्रीहरुको पनि आजै टुंगो लाग्ने बताइएको छ । संसदमा निरन्तरको नेकपा एमालेको अवरोधले आजित बनेका देउवा मध्यावधिमा जाने शंका लिइरहिएको बेला मन्त्रिमण्डलले पूर्णता पाउन लागेको हो ।

मंगलबारमात्रै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन निर्वाचनसम्मै लम्बिने बताइसकेका छन् । एस कांग्रेस र माओवादीको गठबन्धनबाट अगाडि बढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्