माओवादीबाट टुंगियो मन्त्रीको नाम, भोलि सपथ


ओकेजनता डेस्क
४ आश्विन २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री छनोट गर्ने जिम्मा पाएका छन् । मन्त्रीका आकांक्षी धेरै देखिएपछि छनोट गर्न केही सकस भएको माओवादी नेताहरु बताउँछन् ।

प्रचण्डले मन्त्रीमा जानका लागि केही मापदण्ड तोकेका छन् । एकपटक मन्त्री भएकोले राम्रो काम गरेको खण्डमा पुनः दाहोर्याउने, नयाँ सांसदलाई प्राथमिकतामा राख्ने, पति पटक निर्वाचन जितेको लगायतका मापदण्ड छन् ।

यतिबेला माओवादी केन्द्रबाट मन्त्री बन्नेमा देवेन्द्र पौडेल, बिना मगर, गिरिराजमणि पोखरेलको नाम चर्चामा रहेको छ । यद्यपि नारायणकाजी श्रेष्ठ पनि मन्त्री बन्नका लागि दौडमा रहेका छन् । माओवादीलाई एक उपप्रधानमन्त्रीसहित मन्त्री दिने सरकारको तयारी छ ।

माओवादीबाट अर्थ र उर्जामा जनार्दन शर्मा र पम्फा भुसाल यसअघिनै मन्त्री भइसकेका छन् । अब माओवादीले ४ जनामात्रै मन्त्री पठाउनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ६० दिनसम्म पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसक्दा चर्को आलोचना खेप्नुपरिरहेको छ । अब भने छिट्टै मन्त्रिपरिषद् बिस्तार गर्ने पक्षमा देउवा रहेका छन् । उनले गठबन्धन दलहरुबाट मन्त्री बन्नेको नाम माग गरिरहेका छन् ।

अरु दलबाट मन्त्रीको नाम मागिरहेका देउवाले आफ्नो पार्टी नेपाली कांग्रेसबाट भने मन्त्री छनोट गर्न सकेका छैनन् । मन्त्रीका लागि आकांक्षी बढ्दै जाँदा र १४ औँ आसन्न महाधिवेशन नजिकिँदै गर्दा देउवा समस्यामा परेका छन् ।

यतिबेला कांग्रेस भित्रको किचलोका कारण देउवाले एमालेसँग गठबन्धन गर्नसक्ने सम्भावना रहेको केही नेताको बुझाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्