नेकपा एसबाट पाण्डेसहित ५ जना मन्त्री छानिए, एक बाहिरबाट सिफारिस


ओकेजनता डेस्क
३ आश्विन २०७८, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे पर्यटन मन्त्री बन्ने भएका छन् । नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्दै उनी मन्त्री बन्ने भएका हुन् ।

पाल्पाबाट निरन्तर निर्वाचनमा विजयी हुँदै आएका नेता सोमप्रसाद पाण्डेलाई पार्टीमा राम्रो छबि र निष्ठा भएका नेताको रुपमा लिने गरिन्छ । उनले उद्योगमन्त्री बन्दा पनि राम्रो कार्ययोजना अगाडि सारेका थिए ।

एकपटक मन्त्री भएर गलत नजीर बसाएका र का मगर्न नसकेकाहरुलाई भने मन्त्री नबनाउने नेकपा एसले निर्णय गरिरसकेको छ । एसबाट शेरबहादुर कुवँर, किसान श्रेष्ठ, रामकुमारी झाँक्री मन्त्री बन्ने पक्कापक्की भएको छ ।

अन्य दुईजना मन्त्रीको टुंगो लाग्न बाँकी छ । एकजना सांसद बाहेकाका पनि मन्त्री बन्ने पक्का रहेको स्रोत बताउँछ । विरोध खतिवडा पनि मन्त्रीको दाबेदार छन् ।

यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् ।

आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताए ।

‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । आफूसँग असहमत भएकाहरुको मानमर्दन गर्न पठाइएको थियो,’ नेपालले भने, ‘ती सबैबाट मुक्त भएर हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं ।’

उनका अनुसार प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी गरिरहेको सुनाए । ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं,’ उनले भने ।

गण्डकी प्रदेशमा भने ‘हिजैबाट’ आफूहरुलाई भेदभाव गरिएको उनले बताए । ‘गण्डकी प्रदेशमा हिजो हाम्रा पक्षका साथीहरुलाई जुन भेदभाव गरियो, अन्याय गरियो, टिकटबाट वञ्चित गरियो । हामीलाई उठ्नै दिइएन, पीडित बनाइयो,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यहाँ पीडितहरुको एकता भएको छ ।’

प्रतिक्रिया दिनुहोस्