देउवाले डाके आकस्मिक बैठक, एजेण्डा यस्तो छ


ओकेजनता डेस्क
१ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल गरिरहेका छन् ।

शुक्रबार साढे तीन बजेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काबीच छलफल भइरहेको छ । यसअघि शुक्रबार नै नेता मिनेन्द्र रिजालले देउवासँग भेटवार्ता गरि बालुवाटारबाट बाहिरिएका थिए । विहीबार साँझ पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवासँग वान टू वान भेटवार्ता गरेका थिए ।

सभापतिका दाबेदार सिंहले देउवासँग वान टू वान संवाद गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । संस्थापन इत्तर पक्षका अन्य नेतासँग पनि संवाद बढाएको बालुवाटार स्रोतले जनाएको छ ।

यद्यपि देउवाको सचिवालयले सिंहसँगको भेटमा महाधिवेशनको समीकरण नभइ क्रियाशील सदस्यताबारे छलफल भएको बताएको छ । क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी १३ जिल्लाका सन्दर्भमा छलफल अगाडि बढाएको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

सुर्खेत, कैलाली, डोल्पा, रसुवा, बाँके, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी, क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । २० जिल्लाका लागि असोज ५ गते तय गरिएको वडा अधिवेशन फेरि प्रभावित हुने अवस्था बन्दै गएपछि देउवाको सहमतिको खोजीमा जुटेको उनको भनाइ छ ।

भदौ १८ गतेदेखि २५ गतेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । उक्त समयमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा महाधिवेशन हुन सकेको थिएन । निर्वाचन समितिका संयोजक महादेव यादवले शनिबारसम्म सदस्यताको सूची नपाए ५ गतेको अधिवेशन पनि प्रभावित हुने संकेत गरे ।

यद्यपि विवाद टुंगिएका काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा निर्वाचन अधिकृत खटाइएको छ । क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले नेताहरु संवादमा रहेका भन्दै आज भोलिसम्म सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुने बताए ।

प्रतिक्रिया दिनुहोस्