एमाले अध्यक्ष ओलीसँग भएको देउवाको गोप्य सहमति बाहिरियो


ओकेजनता डेस्क
३० भाद्र २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भइरहेको बेला अर्को रणनीति अपनाउने तयारी गरिरहेका छन् । केही दिनयता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको प्रयासमा रहेका प्रधानमन्त्री देउवाले आफ्नै पार्टीभित्रको चिलोका कारण सबैको हैसियत प्रष्ट पार्न निर्वाचनमा जाने आन्तरिक तयारी गरिरहेको स्रोतले स्पष्ट पारेको छ ।

कांग्रेसको आसन्न चौधौ महाधिवेशनमा आफूलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै देउवा निकट संयन्त्रहरु निर्वाचनबारे छलफल र बहस गरिरहेका छन् । यदि देउवाले संसद विघटन गरेर निर्वाचनमा जाने तयारी गरेको खण्डमा धेरै दल र नेताहरुलाई चुनौति थपिने पक्कापक्की छ ।

एमालेसँग सम्बन्ध सुधारेर निर्वाचनमा होमिने देउवाको आन्तरिक तयारीले सफलता पायो भने नवगठित पार्टी र कांग्रेसकै धेरै नेताहरुको भविष्य समस्यामा पर्ने निश्चित भएको छ । स्वभावैले पनि देउवा आफूमाथिको दमन र कटाक्षलाई सहन गर्न नसक्ने नेता हुन् ।

अहिले देउवाको मौनतालाई विभिन्न कोणले हेर्न थालिएको छ । यदि देउवाले चाहेमा उनले संसदमा दिनहुँ भइरहेका अवरोधको कारण देखाउँदै विघटनको तयारी गरेमा मुलुक निर्वाचनमा जानुपर्ने हुन्छ । निर्वाचन आयोगले पनि यसअघि नै आफ्नो आन्तरिक तयारी थालिसकेको छ ।

कांग्रेसको चौधौ महाधिवेशनमा सभापतिकै ५ जनाभन्दा बढी प्रत्यासी देखिएपछि उनलाई केही सकस परेको छ । महामधिवेशन भन्दा पहिले निर्वाचन घोषणा भएमा आफूलाई लाभ मिल्ने बुझेका देउवाले आफू निकट नेताहरुसँग आपसी छलफल थालेका छन् ।

मन्त्रिपरिषद् पनि बिस्तार हुन नसक्नु र त्यसमा नेकपा एकीकृत र जनता समाजवादी पार्टीबीच अध्यादेशको विषयमा विवाद हुनुले प्रधानमन्त्री देउवाको टाउको दुखाई बनेको छ । अध्यादेश निष्कृय पानुपर्ने जसपाको अडानमा नेकपा एस बाधक बनेको छ । अहिलेको अवस्थामा एमालेले पनि निर्वाचन चाहेको प्रष्ट छ ।

देउवाले सोमबार मात्रै मन्त्रिपरिषद् बैठक बोलाएर भारी मात्रामा सहसचिवको सरुवा गरेका छन् । काठमाडौंमा पनि आफू निकट कर्मचारी भित्र्याइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्