रावल भर्सेस भट्ट : फरक–फरक मञ्चबाट यस्तो घोषणा


ओकेजनता डेस्क
२९ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल र सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्ट यतिबेला सुदूरपश्चिम प्रदेशमा रहेका छन् । दुवै जनाले आफू निकट नेता कार्यकर्ताहरुलाई रिझाउने प्रयत्न गरिरहेका छन् ।

सुदूरपश्चिममा बलियो पकड रहेका भीम रावल अब लामो समय प्रदेशमै बस्ने बताइएको छ । रावललाई नेता, कार्यकर्ताले दिग्गज राजनीतिज्ञका रुपमा परिभाषित पनि गर्छन् तर, पछिल्लो रावलको क्रियाकलापले भने धेरै नेता कार्यकर्ता रुष्ट बन्दै गएका छन् ।

अहिले पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका लेखराज भट्ट सुदूरपश्चिम प्रदेशको ईञ्चार्ज भएपछि त्यहाँका नेता, कार्यकर्ता अन्योलमा रहेका छन् । भट्टलाई ईञ्चार्ज स्वीकार्न नसक्ने भन्दै धेरै एमालेका नेता नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

रावल निकट रहेका पूर्व एमाले नेताहरुले अझै उनको साथ मनैदेखि छोड्न सकेका छैनन् । तर रावलले ढुलमुले भएपछि धेरैले आफ्नो भविष्य सुरक्षित गर्न चाहेका हुन् ।

यता, एमाले सुदूरपश्चिमको इञ्चार्जको विषयमा उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ । दुवै नेता अहिले गृह प्रदेश सुदूरपश्चिममा छन् ।

भीम रावल आज मध्यान्ह धनगढी पुगेका हुन् भने सोमबारदेखि कैलालीमा रहेका भट्ट आज कञ्चनपुर गएका छन् । एमाले उपाध्यक्ष रावलले अहिले धनगढीमा कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका छन् ।

उनले १० बुँदे कार्यान्वयनबाट कसैले पनि पन्छिन नहुने बताउँदै नेकपा एमाले एकतावद्ध भएर अगाडि बढ्ने दाबी गरे । ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उनले भने ।

उता पूर्वमन्त्री तथा एमाले सुदूरपश्चिम ईञ्चार्ज भट्ट भने सुख्खा बन्दरगाहको अनुगमनका लागि कञ्चनपुरको दोधाराचाँदनी पुगेका छन् । त्यहाँ प्रेस चौतारीले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इञ्चार्ज घोषणा गरेपछि भट्ट पार्टीलाई गतिशिल बनाउने भन्दै सुदूरपश्चिम आएका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधीसंग भेट गरिसकेका छन् ।

भोलि कैलालीको गेटामा निर्माणधिन मेडिकल कलेजको बारेमा हुने छलफलमा भट्ट उपस्थित हुने कार्यक्रम छ । रावल र भट्टबीच भेटवार्ता हुने कुनै कार्यक्रम भने तय नभएको एमाले नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्