मानवअधिकारले भनेपछि प्रहरी पुग्दा विष्णु माझीको अवस्था यस्तो भेटियो


ओकेजनता डेस्क
२८ भाद्र २०७८, सोमबार

काठमाडौं । यसवर्षको सर्वोत्कृष्ट तीज गीत चरी जेलैमाकी चर्चित गायिका विष्णु माझीको बारेमा अहिले मानवअधिकार आयोगले चासो दिएपछि प्रहरीले उनको अवस्थाबारे बुझ्न शुरु गरेको छ । विष्णु माझीलाई उनका श्रीमान सुन्दरमणि अधिकारीले बन्धक बनाएर राखेको आरोप लाग्दै आएको छ ।

अब भने पुनः चौतर्फी चर्चा बटुलेपछि उनको बारेमा सत्यतथ्य बाहिर आउने सबै दर्शकले आशा गरेका छन् । सुन्दरमणिले विष्णु माझीसँग पत्रकारलगायत कसैको पनि भेट हुन दिएका छैनन् । माझीले चरी जेलैमा गाउन आउँदा पनि मुखमा कालो फेटा बाँधेर आएकी थिइन्।

अहिले मानव अधिकार आयोगका अधिकारीहरुले माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई टेलिफोन गरी उनको अवस्था बुझ्न मौखिक निर्देशन दिएका थिए । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सञ्चारमाध्यममा माझीको विषयमा आएका विवरणहरुबारे यथार्थ पत्ता लगाउन प्रशासनलाई भनिएको बताए ।

आयोगको मौखिक निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी होविन्द्र बोगटीले आइतबार गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए । तर, घरमा कोही पनि नभेटिएको स्थानीय प्रहरीले रिपोर्टिङ गरेका छन् ।

आइतबार नै आयोगले पोखरास्थित क्षेत्रीय कार्यालयलाई पनि बुझ्न निर्देशन दिएको थियो । क्षेत्रीय कार्यालयले पनि स्याङ्जा प्रहरीलाई यसबारे बुझ्न भनेको थियो । आयोगका प्रवक्ता पोखरेलले स्वयम् पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कार्वाहीको प्रक्रिया भने अघि बढाउन नमिल्ने बताए ।

यसअघि २०७५ सालमा पनि विष्णु माझीको अवस्थाबारे जिल्ला प्रशासनले चासो दिएको थियो । त्यसबेला स्याङ्जाकै प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमानलाई कार्यालयमा नै डाकेर सोधपुछ गरेका थिए ।

प्रशासनले बोलाएपछि उनीहरु २०७५ साल पुस २ गते त्यहाँ हाजिर भएका थिए । सोधपुछका क्रममा विष्णुले आफूमाथि श्रीमानबाट कुनै किसिमको गलत व्यवहार नभएको बताएकी थिइन् । थुप्रै लोकप्रिय गीतहरुमा स्वर दिएकी गायिका माझी सार्वजनिक जीवनमा कहिल्यै नदेखिएकाले उनलाई श्रीमानले बन्धक बनाएर राखेको चर्चा पहिल्यैदेखि चल्दै आएको छ ।

यद्यपि, उनीहरुलाई नजिकबाट चिन्ने कलाकारहरु भने श्रीमान सुन्दरमणि अधिकारीसँग विष्णु माझीको राम्रो समझदारी रहेको बताउने गर्छन् । अहिले विष्णु माझीले गाएको चरी जेलैमा गीत निकै चर्चामा छ, जसलाई उनकै श्रीमान सुन्दरमणिले लेखेका र संगीत दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्