नेकपा एमालेको स्थायी कमिटी बस्दै, पावर सेयरिङमा पूरानै एमाले नेता बलियो


ओकेजनता डेस्क
२६ भाद्र २०७८, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुने एजेण्डा छ । एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । एमालेले त्यसका लागि विधान संशोधनको मस्यौदा तल्लो कमिटीमा पठाएको थियो । तल्लो कमिटीले विधान संशोधनका सन्दर्भमा सुझाव पठाइसकेको उनको भनाइ छ ।

यस्तै आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ । सभामुख अग्नि सापकोटाले आफ्नो पार्टी फुटाउन‘भूमिका खेलेको भन्दै भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले लगातार अवरोध गर्दै आएको छ । तर एमालेको अवरोधका बीच सभामुख सापकोटाले संसदको काम कारबाही अगाडि बढाएका छन् ।

स्थायी कमिटी बैठकले यसबारे गम्भीर समिक्षा गरेर अगामी रणनीति बनाउने तामाङले बताए । एमालेको आजको बैठकले नेताहरुको जिम्मेवारी पनि हेरफेर गर्नेछ । विशेषगरी माओवादी केन्द्रबाट आएका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे एमालेमा चुनौती छ ।

एमालेभित्रका तेस्रो धारका नेताहरुलाई पार्टीभित्र उचित जिम्मेवारी नमिलेपछि उनीहरु रिसाएका हुन् । पछिल्लो समय भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत नेताहरुलाई पार्टीमा उचित जिम्मेवारी सुम्पिएको छैन ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतका भूल सुधार गरेर सबैलाई उचित अवसर दिने तयारी गरेका छन् । आजको बैठक २०७५ साल जेठ २ गते अगाडि फर्किने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्