अष्टलक्ष्मीको नयाँ घोषणाले सबै चकित


ओकेजनता डेस्क
२० भाद्र २०७८, आईतवार

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताएकी छिन् ।

आइतबार जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशमा भएको विभिन्न चरणको जनक्रान्तिले व्यवस्था परिवर्तन गरेपनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।

वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताइन् । जननिर्वाचित बहुमतको सरकारलाई पनि राजनीतिज्ञहरुले स्वार्थ पूर्तिका लागि प्रयोग गर्दा देशमा अस्थिरता कायम रहेको उनको भनाइ छ ।

व्यवस्था परिवर्तनसँगै नयाँ अभ्यास गरिरहेको प्रदेश र स्थानीय तहहरुले संघीय सरकारले सही नेतृत्व र दिशा दिन नसकेको उनले बताइन् । राजनीतिक अस्थिरतालाई हटाउन तीनै तहका सरकारले संविधानको व्यवस्था अनुसार जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई जोगाउनु पर्ने उनले बताइन् ।

उनले संघीयता पछि निर्माण भएका तीन तहका सरकारका बीच समन्वयको अभाव भएको बताइन् । संविधानमा नै तीन तहका सरकारको अधिकार तोकिएको भए पनि सो लागू हुन नसक्दा जनभावना अनुकुलका काम र स्थायित्व हुन नसकेको उनको गुनासो छ ।

तिनै तहका सरकार बीच समन्वय नहुँदा लक्ष्य अनुसारको विकास निर्माणको कामले गति दिन नसकेको उनले बताइन् ।

मुख्यमन्त्री शाक्यले तीनै तहको सरकारले भौतिक पूर्वाधारलाई नै विकास ठानेर बार्षिक बजेटलाई त्यसतर्फ केन्द्रीत गर्न नहुने बताइन् । उनले सबै क्षेत्रको समान विकास र विस्तार हुनु पर्ने भन्दै बजेटलाई सही तरिकाले क्षेत्रगत रुपमा विनियोजन गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्