बोगटान–फूडसिल गाउँपालिकाका राम्रा र सम्भावित पक्ष


ओकेजनता डेस्क
१९ भाद्र २०७८, शनिबार

कल्पना शाह

काठमाडौं । प्रायः मानिस देवीदेवतामा आस्था राख्छन् । उनीहरु देउताले भनेको कुरामा विश्वास मान्छन् । देउताले पनि नर (मानिस)हरुको सुरक्षामा भाकल अनुसारको काम गरिदिएका हुन्छन् । देउतालाई कसैले देखेका हुँदैनन् । मात्र स्पर्श गरेका हुन्छन् र मनोकांक्षा पूरा भएपछि मात्रै विश्वास हुन्छ ।

यहाँ डोटीको नमूना र धेरै वर्ष अगाडिदेखि नाम चलेको क्षेत्र बोगटानबारे चर्चा गर्न खोजिएको छ । त्यहाँको रस्तीबस्ती र चालचलनबारे सामान्य चर्चा गरिएको छ । डोटी सदरमूकाम सिलगढीमै राम्रोसँग नेपाली बोल्न नसक्ने समुदाय अवस्थित छ तर हामी बोगटानमा गयौँ भने त्यहाँका नेपाली टोन नै फरक पाउँछौ । आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्नु राम्रो हो तर, यहाँ विकसित परिवेशको बारे चर्चा गरिएको छ ।

साबिक डोटीको चवरा चौतारा गाउँविकास समिति हाल बोगटान फूडसिल गाउँपालिका वडा नम्बर ७ पर्छ । साबिकका ६ वटा गाविस मिलेर अहिले बोगटान फूडसिल गाउँपालिका बनेको छ । कानाचौर, केदारअखडा, सीमचौर, चवराचौतारा, सातफरी, गगुडा गाउँविकास समिति मिलेर अहिले गाउँपालिका बनेको छ । स्थानीय तहको संरचना विकसित भइसकेपछि त्यहाँको विकासले गति लिनु स्वभाविक हो । लामो समय जनप्रतिनिधिविहीन बनेका वडा, गाउँ, नगरले अहिले जनपप्रतिनिधि पाएका छन् ।

केन्द्रीकृत विकासको परिभाषालाई बदलेर विकेन्द्रीकरणमा गएको मुलुकमा नागरिकका चाहाना नजिकबाट सुन्ने र त्यसको समाधान गर्ने दायीत्व जनप्रतिनिधिको हो । पहिलो पटक संघीयताको कसरतमा रहेका स्थानीय तहहरुले नियम कानून निर्माणदेखि नयाँ सिकाइको अनुभव गरे । यति भन्दैमा व्यविचार र गलतलाई प्रसय गर्नेलाई उन्मुक्ति दिनुपर्छ भन्ने होइन । कतिपय मामिलामा आफूले गर्नसक्ने कामलाई समेत वेवास्ता गर्ने, विलासीता मन पराउने, आवश्यक भन्दा बढी खर्च गर्ने÷गराउनेलाई सही मान्न सकिन्न ।

बोगटान फूडसिल गाउँपालिकाको विषयमा हामीले चर्चा गरिरहँदा त्यो गाउँपालिकामा अरु ठाउँजस्तो धेरै मेहनत गर्नुपर्ने, रातदिन जनप्रतिनिधि खटिनुपर्ने देखिदैन् । त्यहाँका जनता भूमीहीन छैनन्, सबैलाई गरिखानका लागि पर्याप्त जमिन छ । केही स्थानबाहेक धेरै ठाउँमा सिँचाईंको सुविधा छ । सडक सञ्जालले पनि छोएको गाउँपालिका हो । विद्युतको पनि बिस्तार भइसकेको छ (स्तरोन्नती गर्नुपर्नेछ) । अब उक्त क्षेत्रमा गर्नुपर्ने कार्य यस्ता देखिन्छन् ।

कृषिमा लगानी

बोगटान फूडसिल गाउँपालिकाका विभिन्न वडाहरु खाद्यान्नको भण्डार भएका क्षेत्र हुन् । परम्परागत रुपमा गरिएको जीवन निर्वाहमुखी खेतीबाट आधुनिक खेतीप्रणालीको विकास गर्नु त्यहाँको लागि महत्वपूर्ण छ । केही गैरसरकारी संस्थाहरुले कृषकको उत्थान गर्ने नाममा दिपायलबाट तरकारी लगेर त्यहीँ स्थानमा पसल थापी आफ्ना दातृनिकायका प्रतिनिधिलाई देखाएको घटना धेरै लामो समय भइसकेको छैन । कुनै पनि मानिसलाई माछा मारेर खुवाउनुभन्दा जाल हान्न सिकाउनुपर्ने कथनलाई अक्षरस पालना गर्नुपर्दछ । कृषक समूह निर्माण गरी सामूहिक कृषि प्रणालीको विकासमा जोड दिनुपर्दछ । कृषक छनोट गर्दा उसको सबै अवस्थिति बुझेर गर्नुपर्दछ ।

मदिरामा नियमन

डोटीका ग्रामिण भेकका जनतालाई गलत बाटोमा हिडाउने मदिरा प्रमुख माध्यम हो । मदिरा सेवनकर्तालाई दण्ड जरिवाना भन्दा पनि यसका अन्य धेरै प्रयोगहरु छन् । बाजुराको गौमूल गाउँपालिकाले गरेको एक उदाहरण यहाँ प्रस्तुत गर्दछु । गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायासँग काठमाडौंको बानेश्वरस्थित थकाली होटेलमा बिहान भेट भो, उहाँले आफ्नो प्रगति विवरण सुनाउँदै गर्दा मदिराको फरक प्रसंग सुनाउनुभयो । मलाई मन पनि पर्यो । गाउँपालिकाले मदिरा प्रयोगकर्ताको कार्ड सिस्टम गरेको रहेछ । नयाँ पाहुना जानासाथ मदिरा सेवन गर्न ५०० सयको रसिद किनेर कार्ड पाउँदा रहेछन्, स्थानीय जनताले पनि वार्षिक रुपमा कार्ड प्रयोग गर्दा रहेछन् । त्यो कार्डवालाले वर्षभरी कति रक्सी सेवन गर्यो त्यसको लेखाजोखा राखेर वर्षको अन्तिममा धेरै मदिरा प्रयोग गर्नेलाई सरकारी सेवासुविधाबाट क्रमशः बञ्चित गराइँदो रहेछ । सामाजिक रुपमा असर पर्ने देखिएपछि त्यहाँ मदिरा सेवन गर्नेको संख्या घट्दो छ । गौमूलमा महिनाको एकपटक राष्ट्रका लागि श्रम भन्दै गाउँपालिका भरीका नागरिकले आफ्नो वरपर सरसफाई गर्दा रहेछन् ।

पर्यटनको प्रचारप्रसार

बोगटानका लागि धार्मिक पर्यटन महत्वपूर्ण रहेको छ । त्यहाँको रितिथिति, चालचलन, खानपानलाई व्यवस्थित गर्नसके त्यहाँको आर्थिकस्तरमा महत्वपूर्ण योगदान पुग्नेछ । स्थानीय परिकार मासका गतानी डुब्का, सेलरोटी, स्थानीय दालभात, कोदोको रोटी, मकैको ढिडो त्यो ठाउँको स्पेशल खाना, खाजा बन्नस«क्छ । सुरुवाती चरणमा कठिन भएपनि यसको बिस्तार र प्रचारप्रसार भए राम्रो हुने देखिन्छ । त्यहाँ होमस्टेको पनि प्रचुर सम्भावना रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई त्यहाँका देवीदेउताले प्रयोग गर्ने सामाग्री, स्थानीयले लगाउने पहिरन, ढिकी जाँतो, घट्ट अन्य धेरै पूराना चिजवस्तुको दृष्यावलोकन गराउन सकिन्छ । त्यहाँ संग्रहालयको पनि स्थापना गर्न सकिन्छ । लोप हुँदै गएका देउडा, ठाडीभाकालगायतका संस्कृतिको जर्गेना गर्न सकिन्छ । त्यहाँका हुड्केउली, मारुनी नाँचलाई जोगाएर राख्न जरुरी छ । विवाहमा बजाइने परम्परागत बाजागाजाको संरक्षण गर्न जरुरी छ ।

सडक पूर्वाधारको विकास

दिपायलदेखि चवरा चौतारा हुँदै सिमचौर बडिकेदारबाट सहजपूर जोड्ने सडकको निर्माण र स्तरोन्नतीका लागि प्रभावित गाउँपालिकाको बैठक बसी छिटो निर्माण सक्न दबाब दिन सकिन्छ । वडा–वडामा सडक पुर्याउनु भन्दा मुख्य सडकको स्तरोन्नती गरी विभिन्न क्षेत्रलाई कृषि उपजको पकेट क्षेत्र बनाउन सकिन्छ । जुन स्थानमा जे उत्पादन बढी हुन्छ त्यसकै बालीलाई रोपेर कृषकलाई आत्मनिर्भर बनाउन सकिन्छ । उत्पादित वस्तुहरुको संकलन केन्द्र हुन जरुरी छ । गाउँपालिकामा पर्ने टुँडागाडमा पुल हुन जरुरी छ र एकपटक दिपायलदेखि चवराचौतारासम्मको बाटो सुधार्न जरुरी छ ।

भ्रष्टाचारमा नियमन

जानीनजानी हरेक स्थानीय तहमा भ्रष्टाचार भएको खबर सार्वजनिक हुन्छन् । भ्रष्टाचार कलंक हो त्यसबाट सबैले जोगिनुपर्दछ । भोलि मरेर जाँदा पनि भ्रष्टाचारीको बास नर्कमै हुन्छ भन्न्े यर्थाथलाई बुझेर कमिसनतन्त्रको अन्त्य हुनुपर्दछ । विगतमा धेरै बेथिती भएको गाउँपालिकालाई बिस्तारै सुधार्नसके त्यहाँको जनजीवन सुखी र खुसी बन्ने थियो ।

प्रतिक्रिया दिनुहोस्