ओली र कानूनमन्त्री कार्कीबीच भएको भेटले अर्को ट्वीस्ट


ओकेजनता डेस्क
१६ भाद्र २०७८, बुधबार

काठमाडौं । कानून मन्त्री ज्ञानेन्द्र कुमार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निवास बालकोट गएर भेट गरेपछि नेपाली राजनीतिमा थप ट्विस्ट सिर्जना भएको छ । मन्त्रिमण्डल बिस्तारमा ढिलाइ भइरहेका बेला एमाले अध्यक्ष ओलीलाई मिलिनियम च्यालेञ्ज कम्याप्क्टमा नेपालका तर्फबाट हस्ताक्षर गर्ने कार्कीले भेटेपछि थप संशय पैदा भएको हो ।

बुधबार बिहानै कानून मन्त्री कार्की ओलीलाई भेट्न पुगेका थिए । ओलीसँग कार्कीले एमसीसीलगायतका विषयमा छलफल गरेको बुझिएको छ । प्रधानमन्त्री रहँदा एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका ओली अहिले एमसीसीको मुद्धाबाट पन्छिएका छन् । एमसीसी सम्बन्धि विज्ञापन प्रसारण गरेको एपी वान टेलिभिजनले समेत क्षमायाचना गरेर विज्ञापन हटाएपछि जनता एमसीसीको पक्षमा नरहेको स्पष्ट रहेको देखिएको छ ।

अहिलेको संक्रमणकालीन समयमा ओली र कार्कीको भेटलाई रहस्यमय रुपमा हेरिएको छ । कांग्रेसले एमालेसँग सम्बन्ध सुधारेर अगाडि बढ्न खोजेको पनि जानकार बताउँछन् । एक टेलिभिजन अन्तर्वार्तामा एमाले नेता योगेश भट्टराईले पनि एक वर्षभित्रै राजनीति एमालेकै पेरिफेरिमा आउन सक्ने संकेत गरेका थिए ।

अध्यादेश ल्याएर एमाले र जसपा विभाजन गरेको सरकारलाई आफैलाई अहिले सकस भएको छ । २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको बहुमत पुर्याउन कांग्रेसमै रामचन्द्र पौडेल पक्षलाई गाह्रो छैन । त्यहीँ भएर पनि देउवा अध्यादेशलाई किनारा लगाएर मन्त्रिमण्डल बिस्तार गर्ने पक्षमा देखिएका छन् ।

ओली र कार्कीबीचको भेट एमसीसी मात्र नभएर राष्ट्रिय सहमतिको सरकार निर्माणका पक्षमा पनि सल्लाह गर्न रहेको स्रोत बताउँछ । तर, अहिले अवस्थामा एमाले यो मान्ने पक्षमा छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ओलीसँग छलफल गर्न चाहेको उनी निकट स्रोत बताउँछ ।

पछिल्लो समय एमसीसी पारित गर्ने बिषय, दार्चुलामा भएको तुइन प्रकरण, खोप नआउने स्थितिले देउवालाई चौतर्फी घेरेको छ । कांग्रेस पार्टीभित्रकै विवादले पनि प्रधानमन्त्री देउवालाई पिरोलेको छ ।

प्रतिक्रिया दिनुहोस्