असोज १ गतेबाट सबै विद्यालय खुल्ने, केही भोलिबाट खुल्दै


ओकेजनता डेस्क
१५ भाद्र २०७८, मंगलवार

काठमाडौं । १७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय नखुलेको १७ महिना भयो ।

पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन् । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।

शहरी क्षेत्रका विद्यालय र शहरी क्षेत्रमा बस्ने विद्यार्थीहरुले जेनतेन अनलाइन कक्षा सञ्चालन गरेको भए पनि ग्रामीण क्षेत्रमा बस्ने अधिकांशको पहुँचमा पुगेको छैन अनलाइन कक्षा ।

किनभने, कम्तीमा २ सन्तानका लागि ल्यापटप वा मोबाइल, मोबाइल डाटा वा इन्टरनेटको आवश्यकता पूरा गर्न सक्ने हैसियत सबै अभिभावकसँग छैन । त्यसबाहेक ग्रामीण भूभागका कतिपय स्थानमा मोबाइलको नेटवर्कसम्म छैन भने इन्टरनेटको पहुँच त अझै टाढाको विषय भयो । त्यसकारण पनि १७ महिनाको अवधिमा विद्यार्थीको सिकाई उपलब्धी खस्किएको छ ।

कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् । विद्यालय बन्द भएको करिब ३ महिनापछि केही विद्यालयमा अनलाइन विधिबाट पठनपाठन सुचारु भएको भए पनि अहिलेसम्म पनि कैयन् विद्यार्थीले अनलाइन कक्षा लिन पाएका छैनन् भने कैयन् शिक्षक र विद्यार्थीलाई अनलाइन कक्षाबारे जानकारीसम्म छैन ।

उता, कोरोनाको डरका कारण केही सरकारी शिक्षकले त घरमै बसीबसी आरामसँग तलब खाइरहेका छन् । केही सरकारी विद्यालयले सम्भव भएसम्म भौतिकरुपमै पठनपाठन गरिरहेका छन् भने केही विद्यालयले रेडियो, स्थानीय टेलिभिजन आदिका माध्यमबाट पनि पठनपाठनलाई निरन्तरता दिइरहेका छन् ।

तर, भौतिकरुपमै विद्यालय सञ्चालनमा नआएसम्म विद्यार्थीको सिकाइमा एकरुपता आउन नसक्ने र सिकाई उपलब्धीमा धेरै नै फरक पर्ने शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भन्छन्, ‘सिकाइ उपलब्धीमा कत्तिको अन्तर पर्यो भन्ने कुरा त अहिले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको क्षमता हेर्दा भइहाल्छ नि ।’

हो, भौतिकरुपमै विद्यालय खुल्दा र नखुल्दाको परिणाम त धेरै नै छन् । भौतिकरुपमै विद्यालय गएर पढ्ने विद्यार्थी, शहरमा स्रोत साधन र इन्टरनेटको राम्रो पहुँच लिएर पढ्ने विद्यार्थी, ग्रामीणस्तरमा सामान्य मोबाइल डाटाको आधारमा अध्ययन गर्ने विद्यार्थी र इन्टरनेटको पहुँच नै नभई अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धी एउटै हुन्छ भन्न सकिने अवस्था छैन । त्यसकारण पनि भौतिकरुपमै विद्यालय सञ्चालन गरेर पठनपाठन सुचारु गर्नुपर्छ भन्ने आवाज बढ्न थालेको छ । तर, विद्यालय खुल्छचाहिँ कहिले त ?

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सक्ने भन्दै अनुमति र परिपत्र जारी गरेको छ । भदौ १५ देखि सरकारी र सामुदायिक दुबै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ ।

स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिका (स्थानीय तह)ले अनुमति दिएको छ ।

नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाका अनुसार स्वास्थ्य सावधानी अपनाई स्वास्थ्य मापदण्ड पूरा गरेर, आवश्यक दूरी कायम गर्ने गरी विद्यालय सञ्चालनका लागि अनुमति दिइएको हो । अब भदौ १५ गतेदेखि गोकर्णेश्वरका निजी तथा सामुदायिक विद्यालयले भौतिक पूर्वाधारको अवस्था हेरी विद्यालय सञ्चालन गर्न सक्नेछन् ।

गोकर्णेश्वर नगरपालिकामा सञ्चालित निजी विद्यालयहरुले भौतिकरुपमै विद्यालय सञ्चालनका लागि अनुमति माग गर्दै निवेदन दिएका थिए । उनीहरुले नगरपालिकामा निवेदन दिनुअघि स्थानीय स्तरमा विद्यार्थीका अभिभावकसँग छलफल गरेर अभिभावकको सहमति लिएर भौतिकरुपमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।

त्यसलगत्तै उनीहरुले निवेदन दिएका थिए । सोही निवेदनमाथि छलफल गर्दै नगरपालिकाको शिक्षा समितिले भदौ १५ गतेदेखि विद्यालय खोल्न सक्नेगरी अनुमति दिएको हो ।

प्रवक्ता ढुङ्गानाका अनुसार विद्यालयले सम्पूर्ण स्वास्थ्य सावधानी अपनाएर भौतिकरुपमै पठनपाठन गर्न सक्नेछन् । विद्यालयको भौतिक पूर्वाधार सानो छ र विद्यार्थी धेरै छन् भने उनीहरुले दुई सिफ्टमा आधा–आधा विद्यार्थी राखेर पढाउनुपर्ने ढुंगाना बताउँछन् । त्यसैगरी विद्यालयमा भौतिक दूरी कायम भएको, साबुन, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध भएको हुनुपर्नेछ भने तापक्रम नापेर मात्रै विद्यालयमा प्रवेश दिइनेछ ।

यदि कुनै विद्यालयमा संक्रमण फैलियो भने उक्त विद्यालय तत्काल बन्द गरिनेछ र कुनै टोलमा संक्रमण बढेको पाइएमा पनि उक्त टोलका विद्यालय बन्द गर्न सक्ने छ । प्रवक्ता ढुंगानाका अनुसार विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरेको वा नगरेको आदिका लागि नगरपालिकाको शिक्षा शाखाले अनुगमन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्