नेकपा (एस)को महासचिव को बन्दैछ ?


ओकेजनता डेस्क
१४ भाद्र २०७८, सोमबार

काठमाडौं । यतिबेला नेकपा एकीकृत समाजवादीको सांगठनिक संरचनालाई बलियो बनाउने कार्य अगाडि बढिरहेको छ । नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एस) मुलुकको चौथो ठूलो दल पनि बनेको छ ।

अहिले पार्टीलाई कसले कसरी हाँक्ला ? भन्ने प्रश्न उब्जिएको छ । त्यसमा पनि महासचिव को बन्छ भन्ने चासोको विषय छ । पहिलो पुस्ता भनिने माधव नेपालकै उमेर हाराहारीका तीन वरिष्ठ नेतामात्रै उनको साथमा छन् । झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसाल पाका नेताहरुमध्येमा पर्छन् ।

दोस्रो पुस्ताका प्रायः सबैले साथ नदिएकाले एमालेमा तेस्रो पुस्ता भनिएका नेताहरू नै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दोस्रो पुस्ताका भएका छन् । विधानमा २५ प्रतिशतभन्दा धेरै युवालाई पार्टी नेतृत्वमा स्थापित गर्ने विषय राख्नु र पार्टी विभाजन पनि युवाहरूको भरमा गर्नुले पार्टीको नेतृत्वमा तहमा उनले युवालाई प्राथमिकता दिन्छन् भन्न सकिन्छ ।

एकीकृत समाजवादीले तयार पारेको अन्तरिम विधानमा अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिवसहित १७ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

अहिले अध्यक्ष र वरिष्ठ नेताबाहेक सबै पदाधिकारी रिक्त छन् । चाँडै राष्ट्रिय भेला आयोजना गर्ने र त्यसलगत्तैको राष्ट्रिय प्रतिनिधि परिषद बैठकबाट पदाधिकारी टुंगो लगाउने योजनामा माधव नेपाल छन् ।

अन्य पदाधिकारीमा नखुलेका भए पनि महासचिवमा बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विरोध खतिवडा, जगन्नाथ खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, रामकुमारी झाँकीलगायतले आकांक्षा व्यक्त गरेका छन् ।

स्रोतका अनुसार मुकुन्द न्यौपाने, बेदुराम, धर्मनाथ प्रसाद साहलगायतका नेताहरू उपाध्यक्षमा समेटिनेछन् । अन्य नेता मन्त्री र पदाधिकारीमा समेटिनेछन् ।

महासचिवमा राष्ट्रिय फिगरसमेत चाहिने भएकाले अहिले मुख्य गरी राजेन्द्र पाण्डे र गंगालाल तुलाधरमध्ये एकले महासचिवको जिम्मेवारी पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ । महासचिव चयनमा झलनाथ खनालको पनि सहमति लिनुपर्ने हुन्छ । खनालको रोजाइमा पाण्डे पर्न सक्छन् भने माधव नेपालको रोजाइमा तुलाधर ।

माधव नेपालले महासचिव कसलाई बनाउने भनेर आन्तरिक छलफल गरिरहेका छन् । महासचिव सक्रिय र संगठन बुझेको तथा प्रभावकारी फिगर हुनुपर्ने भएकाले निर्णय गर्न सकसपूर्ण छ ।

माधव नेपाल पार्टीको मुख्य पदाधिकारीमा जातीय, क्षेत्रीय दृष्टिकोणबाट समेत सन्तुलित हुने गरी नेतृत्व चयन गर्न चाहन्छन् । त्यसका लागि नेवार समुदायका तुलाधर उपयुक्त पात्र हुन् ।

बेदुराम भुसाललाई उपाध्यक्ष, राजेन्द्र पाण्डेलाई पनि उपाध्यक्ष वागमती प्रदेशको मुख्यमन्त्रीमा व्यवस्थापन गरेपछि तुलाधर अन्य आकांक्षीभन्दा वरिष्ठ नेता रहन्छन् । त्यस्तो अवस्थामा अकांक्षीमध्ये केहीलाई उपमहासचिव र केहीलाई सचिवमा व्यवस्थापन गरेर उनले सजिलैसँग तुलाधरलाई नै महासचिव अगाडि बढाउने छन् ।

महासचिव संगठन विस्तारको पनि नेता हुने भएकाले ऊर्जाशील नेता त्यसमा चयन गर्नुपर्ने हुन्छ । त्यस्तै युवा नेतालाई पार्टीको मुख्य जिम्मेवारी दिएर नयाँ पुस्तालाई पार्टीमा आकर्षण गर्नुपर्ने दबाब पनि माधव नेपाललाई छ । यो समेतलाई दृष्टिगत गरी उनले तुलाधरलाई नै महासचिवमा अगाडि बढाउने अनुमान कतिपयको छ ।

गंगालाल पछिल्लो समय माधव नेपालका निकट सहयोगी हुन् । गएको प्रतिनिधिसभा चुनावमा माधव नेपालका चुनावी कमाण्डर उनै तुलाधर थिए ।

५ पुसको घटनापछि नेकपामा राजनीतिक विभाजन आई ओली पक्ष र प्रचण्ड–माधव पक्षमा विभक्त भएपछि नेकपाको केन्द्रीय कार्यालय सचिवमा नेता नेपालले तुलाधरलाई नै अगाडि सारेका थिए ।

पछिल्लो समय एमालेमा आएको दरारमा तुलाधरले नै नेपाल पक्षको कार्यालय व्यवस्थापनसम्बन्धी अधिकांश काम सम्हाल्दै आएका थिए ।

निर्वाचन आयोगबाट छुट्टै दलको मान्यता पाएको भोलिपल्ट १० भदौमा अधिकांश नेताहरूसहित अध्यक्ष नेपालले गरेको पहिलो पत्रकार सम्मेलनको संचालन पनि तुलाधरले नै गरेका थिए ।

तर, महासचिवमा राजेन्द्र पाण्डेको पनि सशक्त दावी छ । उनी नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट उपाध्यक्ष उम्मेदवार बनेर झिनो मतले पराजित भएका थिए । अहिले एमालेमै रहेका दोस्रो तहका नेताहरूभन्दा पनि संसदीय राजनीतिमा पाण्डे प्रभावशाली नेता हुन् ।

पाण्डे र तुलाधर दुवैजना धादिङका हुन् । उनीहरू दुवैजना पूर्वमन्त्री हुन् । पाण्डे २०४८ देखि निरन्तर धादिङबाट उम्मेदवार बनेर २०६४ मा बाहेक सधैँ निर्वाचित भएका छन् ।

तुलाधर २०४८, २०५१ मा निर्वाचित भएका थिए । २०५६ मा झिनो मतले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्