करेन्टबाट हात गुमाएका सतीसको अपिल !


ओकेजनता डेस्क
१३ आश्विन २०७७, मंगलवार

काठमाडौं । एक वर्षअघि करेन्ट लागेर दुवै हात गुमाएका बालकलाई आर्थिक अभावमा उपचार गर्न समस्या भएको छ ।

करेन्ट लागेर दुवै हात गुमाएका डोटीको शिखर नगरपालिका वडा नम्बर १० बानेडुग्रिशैनका १३ वर्षीय सतीस ठगुन्नाको आर्थिक अभावमा उपचार हुन सकेको छैन ।

अहिलेसम्म झण्डै ७ लाख खर्च गरिसके पनि अझै ६० देखि ८० लाख जति खर्च लाग्ने भएपछि आर्थिक सहयोग गरिदिन उनले अपिलसमेत गरेका छन् ।

सतीसलाई २०७६ साल कात्तिक १६ गते करेन्ट लागेर दुवै हात जलेको थियो । उनको सोही नगरपालिकाको वडा नम्बर ३ बानेडुग्रिशैनमा राजेन्द्र निर्माण सेवाको पुल निर्माण कार्य भइरहेकोे ठाउमा बेबरीको फल खाने बेला करेन्ट लागेर दुवै हात जलेको उनका आफन्तको भनाइ छ ।

करेन्ट लागेर घाइते भएका ठगुन्नलाई डोटी, डडेलधुरा र धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको उनकी आमा बिस्नादेवी ठगुन्नाले बताइन् ।

उनको काठमाडौंको कीर्तिपुर अस्पतालमा एक महिना उपचार गरियो । उपचारकै क्रममा करेन्ट लागेका दुई वटै हात काटिएको बिस्नाले बताइन् ।

दुवै हात हाल्न अस्पतालले ठूलो धनराशि खर्च हुने भनेपछि निराश हुँदै दुवै हात गुमाएका बाबु लिएर घर फर्किएको उनका काका राजेश ठगुन्नाले बताए ।

उनले भने, ‘कृतिम हात हाल्न ६० देखि ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ, यति ठूलो रकम कहाँबाट जुटाउने ? समस्या भएको छ ।’

उनले उपचारका लागि सहयोगको याचना गरे । ‘देश विदेशबाट मनकारी व्यक्तिले उपचारका लागि आर्थिक सहयोग ग¥यो भने उपचार सम्भव हुने थियो,’ उनले भने ।

बिस्नाका पति योगेन्द्र ठगुन्ना रोजगारीका लागी भारत गएको ७–८ वर्षदेखि बेपत्ता छन् । अहिलेसम्म उनी सम्पर्कविहीन छन् । डेढ महिना अगाडि राजिस्थानको शालासागर भन्ने ठाँउ अचेत अवस्था झुलुक्क देखिएको खबर पाए फेरि कता हराए थाहा छैन ।

खोज्न धेरै प्रयास गरे तर असफल भए । दुई छोराको लालनपालनको जिम्मा पनि उनकै काँधमा छ । अहिले उनी छाक टार्न र छोराको दुवै हात जोड्ने झिनो आश लिएर गिट्टी कुट्ने, मजदुरी लगायतका काम गरिरहेको बताउँछिन् ।

पति सम्पर्कविहीन भएको ७–८ बर्ष भयो भन्दै निन्याउरो मुद्रामा आफ्नो पीडा सुनाउदै उनले रुदै भनिन्, ‘अब छोरा पढाइमा नि राम्रो छ । म निराश हुदा भोलि ठुलो मान्छे बनेर केही गर्छु आमा भनेर सम्झाउथ्यो । आज सतीशको दुबै हात गुमाएको देख्दा मलाई भगवानले पनि ठुलो पीडा दिएको छ ।’

उनी भन्छन्, ‘प्रारम्भिक उपचारमा राजेन्द्र निर्माण सेवाले सात लाख शिखर नगरपालिकाले काठमाडौं सम्मको यातायात खर्च सहयोग गरेर उनको ज्यान त जोगियो । तर अहिले बाचेको बाबुको हात जोड्ने सपना अधुरो रहेको छ ।’

उनले थपिन्, ‘म हुन्जेल त सतीसलाई खाना खुवाउन, दिसापिसाब गर्न, सरफाई गर्न सहयोग गरौंला । म मरेँ भने भोलि यति पनि कोले गर्ला ।’ उनले गहभरी आँसु निकाल्दै पीडा पोखिन् ।

सतिस सिद्धेश्वर आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । दुवै हात गुमेका कारण उनी लामो समयदेखि विद्यालय जान सकेका छैनन् । सतीस भन्छन्, ‘मेरो हात जोडिएको भए म बाचेको पनि सार्थक हुने थियोे । भएको दुवै हात गुमाउँदा अँध्यारोको जिन्दगी व्यतित गरिरहेको छु ।’

कृतिम हात जोड्नको लागि सहयोग गरिदिन सबैमा सतीसले अपिल गरे ।

डोटीमा कार्यरत पत्रकार प्रकाश बमको सहयोगमा तयार सामाग्री

प्रतिक्रिया दिनुहोस्