पाँच दिन किशोरीसँग एउटै कोठामा, त्यसपछि फरार…


ओकेजनता डेस्क
१३ भाद्र २०७८, आईतवार

काठमाडौं । दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत एक प्रहरी जवानमाथि बालबिवाह गरि किशोरीलाई अलपत्र छाडेको आरोप लागेको छ ।

प्रहरी जवान डम्बर दियालले भीमदत्त नगरपालिका–७ हल्दुखालकी एक १८ वर्षीया किशोरीलाई असार २२ गते आफ्नो घर डडेल्धुरा लगेर गएका थिए। किशोरीको दाजु दिनेश सिंह चाडका अनुसार उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो।

घर परिवारले उक्त प्रेम सम्बन्धबारे जानकारी पाएपछि किशोरीलाई बिहे गर्छु भन्दै टिका मात्रै लगाएर उनले डडेल्धुराको अमरगढी नगरपालिका–१ मालम घरमा लगेका थिए। केही दिन घरमै बसेका डम्बरले ती किशोरीलाई साउन ११ गते महेन्द्रनगरमा रहेको कोठामा ल्याएका थिए। २ दिन बसेर उनी १३ गते तालिम छ भन्दै कोठाबाट निस्केका थिए।

तर उनी नफर्किएको किशोरीले बताइन्। ‘५ दिनसम्म पर्खिएर बसे तर उनी आएनन्। उनी सम्पर्कबिहिन बनेपछि म माइत आएर बसेको छु’ उनले भनिन्। उक्त विषयमा उनका दाई दिनेशले प्रहरीमा उजुरी दिएको बताएका छन्।

‘धेरै समय त कुर्यौ तर सम्पर्कमै नआएपछि ५ दिनअघि जिल्ला प्रहरीमा उजुरी दिएका छौं,’ उनले भने, ‘प्रहरीले पनि खोजी भइरहेको छ भन्छन् । घरमा सबैको रोएर बेहाल छ। बहिनी मरिदिन्छु भन्छे ।’

उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उजुरी आइसकेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

 

प्रहरी स्रोतका अनुसार ती प्रहरी जवान डम्बर दियाललाई विभागीय कारबाही भएको र उनले जागीर छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्