माधव नेपालले मन्त्री टुंग्याए, सुदूरपश्चिमबाट शेरबहादुर कुवँर मन्त्री बन्दै


ओकेजनता डेस्क
१३ भाद्र २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला मन्त्रिमण्डल बिस्तारको छलफलमा जुटेका छन् । एमाले विभाजनको बाटो कुरेर बसेका देउवाले आजै मन्त्रिमण्डलले पूर्णता पाउने बताएका थिए ।

अहिले पार्टीभित्र नै मन्त्री बन्ने धेरै आकांक्षी देखिएपछि देउवालाई हम्मेहम्मे परेको छ । यता, माओवादी केन्द्रबाट मन्त्री बन्ने पनि धेरैको आकांक्षा छ भने नेकपा एकीकृत समाजवादीले पनि मन्त्री लगभग टुंग्याएको छ । अहिले एकीकृत समाजवादीमा पनि मन्त्री बन्नेको होड छ । पूर्व वनमन्त्री प्रेम आले पनि मन्त्रीको आकांक्षी देखिएका छन् भने सुदूरपश्चिम प्रदेशबाटै अर्का सांसद शेरबहादुर कुवँरको पनि मन्त्रीमा दाबी छ ।

अहिले माधवकुमार नेपालले कुवँरलाई मन्त्री बनाउने इच्छा देखाएको स्रोत बताउँछ । माधव नेपालको पक्षमा जिउ ज्यान फालेर लाग्नुभएका सुदुरपश्चिमका नेता शेरबहादुर कुँवरले पनि मन्त्रीमा दाबी गरेकाले प्रेम आले यो पटक मन्त्री नहुने लगभग पक्का भएको हो ।

अहिलेसम्म एकीकृत समाजवादीबाट युवा र महिलाको नेतृत्व गर्दै रामकुमारी झाँक्रीलाई मन्त्री बनाउने भन्नेमा करिब–करिब सहमति जुटेको छ । त्यसबाहेक प्रदेश नम्बर १ बाट भवानी खापुङले दाबी गर्नुभएको छ । बागमती प्रदेशबाट विरोध खतिवडा र जीवनराम श्रेष्ठको दाबी छ ।

गण्डकी प्रदेशबाट किसान श्रेष्ठको मुख्य दाबी छ । सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवर र प्रेम आलेले दाबी गर्नुभएको छ । आलेले मन्त्री नपाउने लगभग पक्का हो । उहाँ खेमाका किसान श्रेष्ठ मन्त्री बन्ने भएपछि उहाँलाई अहिले रोकिएको श्रोतको भनाइ छ । समाजवादीले उपसभामुखमा प्रदेश २ बाट एक जना महिलालाई अघि सार्ने तयारी छ ।

नेकपा एकीकृत समाजवादीलाई मन्त्रीका आकांक्षी मिलाउन हम्मेहम्मे परेको छ । एमालेको औपचारिक विभाजनलगत्तै सरकारको काम तीव्र पार्ने बताएका सत्ता गठबन्धनका नेताहरूले मन्त्रिपरिषद् विस्तारमा अझै दुई–तीन दिन लाग्ने संकेत गरेका छन् । मन्त्रिपरिषद् विस्तारलाई लिएर प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार बिहान छलफल भएपनि कहिलेसम्म विस्तार गर्नेबारे ठोस सहमति बनेको छैन ।

प्रधानमन्त्रीनिकट एक नेताका अनुसार कांग्रेस र माओवादीमा धेरै समस्या नदेखिएपनि एकीकृत समाजवादी र जसपामा आन्तरिक मतभेद हुने सम्भावना रहेकाले मन्त्रिपरिषद् विस्तार नाम दिएलगत्तै गर्ने तयारी छ । स्रोतका अनुसार जसपाका नेताहरू दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता नगरी मन्त्रिपरिषद् विस्तारमा जाँदा पार्टीभित्र समस्या आउन सक्ने बुझाइमा छन् ।

खास गरेर जसपा र एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै छन् । महन्थ ठाकुर पक्षका सांसदहरूले मन्त्रीकै लोभमा कित्ता परिवर्तन गरेका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका आठ सांसद पनि मन्त्रीकै आशमा माधव नेपालतिर लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्