सुदूरपश्चिममा भीम रावल कमजोर, यस्तो छ अंकगणित


ओकेजनता डेस्क
१० भाद्र २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई उनी निकट धेरै नेता, कार्यकर्ताले साथ छोडेका छन् । रावलको दृढ अगान नभएो भन्दै शेरबहादुर कुवँर, दीर्घ सोडारी, माया भट्ट, भानुभक्त जोशीलगायतले साथ छोडेका हुन् । अहिले रावल सुदूरपश्चिमको राजनीतिमा कमजोर हुँदै गएका छन् ।
गत चैत १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो तर, भीम रावलको असहमतिपछि एमाले सरकारबाट बाहिरिएन । बरु सरकार पुनर्गठनमा एमालेले थप भाग पायो ।

जेठ १० गते बसेको स्थायी कमिटी बैठकले पनि प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको निर्देशन अवज्ञा गर्दै २५ जेठमा एमालेका १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिए ।

सभामुखसहित एमालेका २५ सांसदमध्ये त्यो बेलासम्म रावल÷नेपाल पक्षमा १७ सांसद खुलेका थिए । ओली पक्षमा भने ७ जना मात्रै थिए । सुदूरपश्चिम प्रदेशमा एमाले भित्र माधव नेपालका कारण भीम रावल बलिया भएका हुन् कि भीम रावलका कारण माधव नेपाल भन्ने बिषय चर्चामा थियो । तर, अहिले रावल एमालेमै रहने भएपनि उनी निकटकै व्यक्तिहरूले साथ छोडेका छन् ।

सुदूरपश्चिमको एमाले राजनीतिमा भीम रावल फ्याक्टर र प्रेम आले फ्याक्टरले काम गर्छ । रावल माधव नेपालसँग हुँदा आले ओलीतिर लागे । आलेले नेकपा विभाजनको बेला सुदूरपश्चिको ठूलो शक्ति ओलीतिर पारेका थिए ।

तर पछिल्लो समय आले ओली छाडेर माधव नेपालतिर लागे । ओलीतिरका मान्छे त यथावत रहे तर भीम रावल जो प्रदेशसभा र प्रदेश कमिटीमा सबैभन्दा शक्तिसाली थिए उनी एमालेमै रहँदा त्यो शक्ति आफूसँग राख्न सकेनन् । संघीय सांसदमा उनी र झपट रावलमात्र माधव नेपाल छाडेर एमालेमा रहे अरु पहिले नै ओलीसँग थिए ।
रावलको गृह जिल्ला अछाम हो । रावल एमाले सुदूरपश्चिम प्रदेश संयोजक हुँदा अछाम जिल्ला अध्यक्ष रहेका शेरबहादुर कुँवरलाई रावलको विश्वास पात्रको रुपमा लिने गरिएको थियो ।

उनी अन्तिम समयसम्म रावलको साथमा थिए । ओली पक्षले नेपाल समूहलाई साथ दिएको भन्दै उनलाई जिल्ला अध्यक्षको जिम्मेवारीबाट समेत हटाएको थियो । रावलकै जोड बलमा उनलाई राष्ट्रियसभा सदस्यमा निर्वाचित गराइएको थियो । तर, आज उनी रावलको साथमा छैनन् । माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा उनले सनाखत गरेका छन् ।

कुँवरलाई अछाममा बलियो जनाधार भएको नेताको रुपमा चिनिन्छ । २०६४ सालमा सुदूरपश्चिम प्रदेशबाट एमालेका तीन नेता मात्रै प्रत्यक्ष निर्वाचित भएका थिए । तीमध्ये एक हुन् कुँवर । बलियो जनाधार भएका आफ्नै नेताले साथ छोडेपछि जिल्लामै रावल कमजोर भएको विश्लेषण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमाले संसदीय दलको नेता प्रकाश शाह भएपनि सोडारीको पक्षमा धेरै सांसद रहेको बताइन्छ । संसदीय निर्वाचनमा एमाले कैलालीका अध्यक्ष रहेका सोडारीले आफूनिकटका व्यक्तिहरुलाई टिकट दिएको र उनीहरु निर्वाचित भएपछि सोडारी थप बलिया भएका हुन् ।

सामाजिक विकासमन्त्री भएका बेला उनलाई कारबाही गरिएको थियो । पार्टी अध्यक्षबाट कारवाही भोगेका उनी सधैं बलियो नै रहे । नेपाल पक्षको भेलाले कारवाही फुकुवा गरे पनि एमालेले अझै उनको कारबाही फुकुवा गरेको छैन । तर, उनी दोस्रोपटक भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भए । रावलनिकट रहेका सोडारी अहिले नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

बुधबार कैलालीको सुखड र मसुरियामा आयोजित कार्यक्रममा ओलीको अतिवादीको विरुद्धमा उभिएर नयाँ पार्टीमा लाग्न उनले आग्रह गरेका थिए । सो कार्यक्रममा कैलाली प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य अमर साउद र अछामबाट निर्वाचित बलबहादुर सोडारी पनि सहभागी थिए । उनीहरु दुवैले एमालेको साथ छोडेको बताइएको छ ।

सोडारीसहित सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले पनि रावलको साथ छोडेका छन् । उनी कञ्चनपुर एमालेका अध्यक्ष थिए । जेठ २ मा फर्किँदा उनी जिल्ला अध्यक्ष हुन् ।

प्रदेश सरकारको प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग वन तथा वन तथा वातावरणमन्त्री नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य भएका छन् । भट्ट रावलनिकट हुन् भने जोशी घनश्याम भुसाल निकट हुन् ।

२४ चैत्रमा सुदूरपश्चिममा रावलले आप्mनो संयोजकत्वमा समानान्तर समिति तयार गरेका थिए । त्यसमा कैलालीको अध्यक्ष बनाइएका दीर्घ सोडारी, कञ्चनपुरको तारालामा तामाङ र अछामका अध्यक्ष तोकिएका शेरबहादुर कुँवर अहिले उनको साथमा छैनन् ।

प्रतिक्रिया दिनुहोस्