लिमीमा नेपाल–चीन सीमाको यथार्थ


ओकेजनता डेस्क
१२ आश्विन २०७७, सोमबार

काठमाडौं । नेपाल–चीन सिमाना हुम्लाको लिमी (साविक)को गाउँ विकास समिति क्षेत्र नेपालीले उपभोग गर्दै आएको क्षेत्र भएको त्यहाँका जनप्रतिनिधिले बताएका छन् ।

विगतमा हुम्लाको लिमी क्षेत्रका बासिन्दाको ज्यापु जोखा खोलासम्म गौरचन रहेको पनि पूर्व पर्यटन मन्त्री एवम् कर्णाली प्रदेशसभा प्रतिपक्षी दलका नेता जीवन बहादुर शाहीले बताएका हुन् ।

शाहीले भने, ‘२०७३ सालमा पशु क्वारेन्टाइन भनेर भवन निर्माण गरियो, अहिले पुनः ११ वटा भवन निर्माण गरियो, २०५८ सालमा लिमी गाविसले आफ्नो गाउँ, आफै बनाउ भन्ने सरकारको कार्यक्रम मार्फत् त्यहाँ सडक निर्माणको अभियान थालेको थियो ।

२०६६ सालमा लिमी ल्हासा बाटो पुर्याउने लक्ष्यसहित चीनले पनि नेपाली भूभागबाट मानसरोवर राम्रो देखिन्छ भन्दै सडक बिस्तारका लागि अनुमति दिएको थियो ।’

ज्यापु जोखा खोलासम्म नै नेपालको सिमाना रहेको शाहीको दाबी छ । अहिले ज्यापु जोखा खोला भन्दा दुई किलोमिटर यता आएर संरचना निर्माण गरिएपछि हुम्लाबासी सशंकित भएको शाहीको भनाइ छ ।

शाहीका अनुसार दुई महिना अगाडि ज्यापु जोखा खोला भन्दा दुई किलोमिटर यता संरचना निर्माण गरिएपछि लिमीका गाउँले त्यहाँसम्म पुगेका थिए तर उनीहरुलाई चिनीयाँ पक्षले वास्ता गरेन ।

सीमा रक्षक सीमाका जनता भएको भन्दै शाहीले सरकारी प्रतिनिधिमण्डलले उनीहरुलाई केही नसोधेको प्रति दुःख व्यक्त गरे ।

शाहीले भने, ‘सीमा चीनको पनि हुनसक्छ, उतिबेलाको समयमा नेपाली पक्षसँग नापनक्सा थिएन, छलफल र वार्ताका माध्यमबाट कुटनीतिक रुपमा समस्या समाधान गरिनुपर्छ ।’

‘नेपालजस्तो सानो मुलुकले विश्वको शक्तिशाली चीनसँग निहुँ खोज्ने विषय छैन, तर कुनै छलफल तयारी नगरी परराष्ट्रमन्त्रीले चीनले सीमा मिचेको छैन भन्नु तथ्यहीन तर्क हो ।’

प्रतिक्रिया दिनुहोस्