पर्यटनकै माध्यमबाट अर्थतन्त्र उठ्छ : मन्त्री भट्टराई


ओकेजनता डेस्क
१२ आश्विन २०७७, सोमबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको अर्थतन्त्र पर्यटनको क्षेत्रबाट माथि उठाउन सकिने बताउनुभएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा वृक्षारोपण गर्न चोभार पुग्नुभएका मन्त्री भट्टराईले कोरोनाले धक्का दिएको नेपालको अर्थतन्त्र पर्यटनका माध्यमबाट माथि उठाउन सकिने बताउनुभएको हो ।

मन्त्री भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गर्नुहुँदै कोरोनाका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो ।

राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यका वरिपरिका डाँडाहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने उहाँले बताउनुभयो । चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले स्पस्ट पार्नुभयो ।

मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा उपत्यकाको रात्रीकालीन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाइ छ ।

उहाँले अबको पर्यटन ग्रामीण पर्यटनमाथि केन्द्रीत हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।

यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्