गहनासहित डोटीको केआइसिंहहका दुईजना पक्राउ


ओकेजनता डेस्क
११ आश्विन २०७७, आईतवार

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुका साथमा भारतबाट ल्याउँदै गरेको सुनका गहना बरामद भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई सुनका गहनासहित पक्राउ गरेको हो ।

डोटी केआइसिंह गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

उनका अनुसार दुवै जनाबाट ४ सय ४० ग्राम ६ सय ३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्