अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा कोनी


ओकेजनता डेस्क
११ आश्विन २०७७, आईतवार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि एमी कोनी ब्यारेटलाई नियुक्त गर्ने प्रस्ताव गरेका छन् ।

सामाजिक रुढीवादीहरुकी प्रिय एमीलाई ट्रम्पले उदारवादी न्यायाधीश रुथ बेडर गिन्सबर्गको स्थानमा नियुक्त गर्न मनोनित गरेका हुन् ।

ह्वाइट हाउसको रोज गार्डेनमा मनोनयन घोषणा गर्दै ट्रम्पले एमीलाई अपूर्व उपलब्धी हासिल गर्ने महिलाका रुपमा परिभाषित गरे ।

माथिल्लो सदन सिनेटमा हुने सुनुवाईले उनको नाम पारित गरेमा एमीले सर्वोच्च अदालतमा दिवंगत न्यायाधीश गिन्सबर्गको स्थान लिने छिन् । गिन्सबर्गको ८७ वर्षको उमेरमा गएको हप्ताको शुक्रबार निधन भएको थियो ।

ट्रम्पले आइतबार एमीको नाम प्रस्ताव गर्दै उनी संविधानप्रति अटूट निष्ठा राख्ने व्यक्ति रहेको बताए ।

डेमोक्र्याटहरुले चुनावको मुखैमा खाली भएको न्यायाधीशको नियुक्ति चुनावपछि मात्रै हुनु पर्ने बताउँदै आएका छन् ।

तर चार वर्षअघि चुनाव भन्दा १० महिनाअघि नै खाली भएको पदमा नियुक्ति गर्न खोज्दा सिनेटमा रिपब्लिकन नेताले चुनाव वर्षमा नियुक्त गर्न नहुने भन्दै रोकेका थिए ।

अहिले भने तिनै नेताले जति सक्दो चाँडो सुनुवाई प्रक्रिया सकेर नियुक्ति प्रक्रिया पूरा गर्ने बताएका छन्। सिनेटमा रिपब्लिकनको बहुमत छ । प्रस्तावित न्यायाधीशको नाम पास गर्नका लागि सामान्य बहुमत भए पुग्छ ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले सिनेटले अमेरिकी जनताले आफ्नो नयाँ राष्ट्रपति चयन नगरेसम्म खाली न्यायाधीश पदका लागि हुने नियुक्ति प्रक्रिया सुरु नगर्न आग्रह गरेका छन् ।

संविधानले जनतालाई अदालतमा को न्यायाधीश बन्ने भन्ने निर्यण गर्ने अधिकार दिएकाले त्यसको सम्मान गरिनु पर्ने उनले बताएका छन् ।

एमी नियुक्त भएमा अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत हुन्छ। ४८ वर्षकी एमी नियुक्त भएमा ट्रम्पले सर्वोच्चमा नियुक्त गरेको तेस्रो न्यायाधीश हुने छिन् ।

अमेरिकाको संविधान अनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन्। उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्छ ।

प्रतिक्रिया दिनुहोस्