विजय शाहीमा थपिएको अर्को ट्यालेन्ट (अन्तर्वार्ता)


ओकेजनता डेस्क
१० असार २०७८, बिहीबार

विजय शाही, उनी एकपटक स्मरण गरेको विषयलाई नहेरी भन्न सक्छन् । उनमा रहेको दैविक शक्ति र फर्मूलाले यो सम्भव भएको हो । साधारण जीवनशैली मन पराउने शाहीको जन्म कालिकोटको गेलामा भएको हो । काठमाडौं पसेको चारवर्ष हुनै लाग्दा उनले यहाँ धेरै संघर्ष गरिरहनुपरेको छ । उमेरले पनि सानै रहेका शाहीलाई आफूभित्र रहेको क्षमता चिन्न धेरै समय लाग्यो । काठमाडौंको भिडमा उनलाई केही समय हतोत्साहित पार्ने धेरै प्रपञ्च रचिए । पछिल्लो समय भने उनले काठमाडौंलाई राम्रोसँग चिनेका छन् । अब, धेरै सञ्चारमाध्यममा गएर बोल्नुभन्दा पनि काम गरेर आफूलाई थप प्रमाणित गर्ने उनको सोच छ । लामो समयपछि शाहीसँग ओकेजनताले उनको योजना र अहिलेको अवस्थाबारे बुझेको छ ।

१) के छ विजय जी, पछिल्लो समय के गर्दै हुनुहुन्छ ?

पछिल्लो समय आफ्नो क्षमतामा थप निखारता ल्याउने प्रयत्न गरिरहेको छुँ । लकडाउनको समय भएकोले पनि घर, अफिस गर्दै दिनचर्या बितिरहेको छ ।

२) निखारता आयो भन्नुभयो, पहिला थिएन र ?

पहिले पनि आफ्नो विवेकले भ्याएसम्मको गरिरहेको थिएँ, केही झिनो कारणले विवादमा पनि तान्यो । अब, म सीधै लाइभमै पढेर त्यहाँ लेखेका कुराहरु भन्नसक्ने भएको छुँ । मलाई पढ्नका निम्ति अर्को कोठाको खाँचो पर्दैन ।

३) यो त पहिले पनि गर्न सकिन्नथ्यो ?
तपाईंहरुले दिएका किताबहरुलाई सबै फमूर्लामा ढालेर एकैछिनमा स्मरण गर्नु आफैमा गाह्रो कुरा हो, यसमा दैविक शक्ति पनि प्रेरक बनेको थियो । पछिल्लो समयको त्याग, तपस्या र मेरो नित्य कर्मका कारण फर्मूलासँगै डिभाइन पावर थप मजबुद बन्दै गएको छ । अहिले म प्रत्यक्ष पढेर स्मरण गर्नसक्ने भएको छुँ ।

४) अबको योजना के छ ? तपाईंमाथि रहेका भ्रमलाई कसरी चिर्नुहुन्छ ?
अबको मेरो पहिलो योजना नेपाली नागरिकहरुलाई आफ्नो क्षमता बाड्नु रहनेछ । मैले उहाँहरुलाई सिकाएर प्रमाणित गर्नेछु की, विजय शाही फेक होइन उसले अवसर पाएको थिएन । अब मलाई केही व्यक्ति, अग्रजहरुले मेरो क्षमता चिनेर सहयोग गरिरहनु भएको छ जसको परिणाम स्वरुप म थप अब्बल बन्दै गएको छुँ ।

५) तपाईंसँग साइन्टिफिक फर्र्मूला छ भनेर कसरी विश्वास गर्ने ?
मैले सिकाएका धेरै विद्यार्थीहरुलाई तपाईं भेट्न सक्नुहुन्छ, उहाँहरुले विभिन्न युट्युवमा डेमो दिनुभएको छ । म सँग भएको फमूर्ला म सडकमा भन्दै हिड्नु र ? सिस्टम हुन्छ, त्यो अवसर हुनुपर्छ । केही मानिसको भिडमा मैले फमूर्ला बताइरहँदा त्यसको प्रभाव अझ नराम्रो बन्न सक्छ । अब कक्षाहरु सञ्चालन गर्ने तयारी गरिरहेको छुँ, त्यहाँ विद्यार्थीहरुलाई राख्छु, केही नित्य कर्मका सुत्रहरु भन्छु सँगसँगै फर्मूला पनि जोड्दै जानेछुँ ।

६) कहिलेबाट कक्षा सञ्चालन हुन्छ ? कस्ता नागरिक तपाईंका विद्यार्थी बन्न पाउँछन् ?
लकडाउन खुकुलो हुनेबित्तिकै हामी कक्षा सञ्चालनको तयारी गरिरहेका छौँ, १२ वर्ष भन्दा माथिका नागरिकले विद्यार्थी बन्न पाउँछन्, उहाँहरुलाई दक्ष तुल्याएर मात्रै बिदा गर्छौ ।

७) तपाईंलाई लाग्ने अर्को आरोप, त्यतिनै ट्यालेन्ट हो भने किन लोकससेवा नलडेको ? किन नाम ननिकालेको ?
म अब त्यसको तयारीमा छुँ, मैले आफूसँग भएको क्षमता नागरिकहरुलाई बाँडौँ, भन्ने सोचले त्यतापट्टि ध्यान दिइन । यहाँहरुको चित्त बुझाउन भएपनि एकपटक लोकसेवा लडेर नाम निकाल्छुँ ।

८) नेपालका उच्च ओहोदामा बसेका धेरै व्यक्तिहरुलाई भेट्नुभयो, त्यहाँबाट कस्तो प्रेरणा वा सहयोग पाइयो ?
हो, मैले पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत धेरै व्यक्तित्वलाई भेट गरेको छुँ, उहाँहरुले मेरो भविष्यको चिन्ता लिनुभएको थियो । बीचैमा लकडाउन, कोरोनाको त्रास इत्यादि कारणले पनि होला अहिले सम्पर्क भएको छैन । बिस्तारै उहाँहरुले मेरो पछिल्लो योजनाको बारेमा ख्याल राख्नुहुनेछ भन्ने आशा छ ।

९) अहिले कसले सहयोग गरिरहनुभएको छ ?
मलाई डम्बर खड्का दाजुले धेरै सहयोग गर्नुभएको छ । उहाँले बासस्थानदेखि कार्यालय व्यवस्थापनसम्म गरिदिनु भएको छ । उहाँको थप प्रेरणाले मलाई अझै केही गरौँ भन्ने आशा पलाएको छ, उहाँको हौसला, माया, प्रेम, सद्भाव सदैव म माथि रहिरहनेछ ।

डम्बर खड्का, सहयोगी 

१०) अमेरिकामा चारपटक मेमोरी च्यान्पियन भइसकेका नेल्सन डेलिजसँग पनि भेट गर्नुभयो के–कस्तो विषयमा कुराकानी भयो ?
उहाँलाई मैले प्रत्यक्ष रुपमा डेमो दिएँ । मेरो क्षमताबाट उहाँ पनि प्रभावित भएर जानुभएको छ । मैले दिएको डेमोलाई उहाँले आफ्नो युट्युव च्यानलमा अपलोड गर्ने बताउनुभएको छ । आशा छ, नेल्सन सरले त्यो भिडियो युट्युवमा राखिसकेपछि धेरै भ्रमहरु चिरिनेछन् ।

नेल्सन डेलिज

११) अन्तमा केही भन्नु छ ?
विशेष त ओकेजनता परिवारलाई धन्यवाद, यो लकडाउनको समयमा मेरो कार्यालयसम्म पुगेर पछिल्लो जानकारी लिनुभयो । आशा छ यहाँहरुको सद्भाव म माथि रहिरहने छ । धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस्