डोेटीमा नेकपाको लहर : ‘मल्ल भन्छन् आगामी जित हाम्रै हो’


ओकेजनता डेस्क
१० आश्विन २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटी जिल्ला अध्यक्ष चक्र मल्लले आगामी निर्वाचन नेकपाकै पक्षमा रहने दाबी गरेका छन् ।

कांग्रेस डोटीमा कमजोर भइसकेको बताउँदै मल्लले बाखरे निन्द्रामा रहेको जिकीर गरेका हुन् ।

नेकपा दिपायल सिलगढी नगर संगठन कमिटिको बैठक तथा जनप्रतिनिधि र कार्यकर्ताबीच अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मल्लले ९ वटा स्थानीय तह, प्रदेशमा क र ख गरी २ वटा निर्वाचन क्षेत्र र संघमा एउटा निर्वाचन क्षेत्र भएको डोटीमा नेकपाले जितेका स्थानीय तह र निर्वाचन क्षेत्र आगामी निर्वाचनमा कसरी जित्न सकिन्छ भनेर काँग्रेसलाई निद हराम भएको बताएका छन् ।

यस्तो अवस्थामा नेकपाभित्र गुट, उपगुट, घात, अन्तरघात, शंका, उपशंका र वादविवादको अन्त्य गरी पार्टी संगठन निर्माणमा लाग्नुपर्ने नेकपा अध्यक्ष मल्लले बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पार्टीभित्रैका वादविवाद, जनप्रतिनिधिका व्यवहार, नेता–नेता, नेता–कार्यकर्ताका व्यवहारकै विषयमा समय खर्च गरेका छन् ।

कार्यक्रम शुरु गर्नुपूर्व सहभागिहरुबीच पार्टीको सिद्धान्त र विचार बारे धाराणा राख्ने मनसाय भएपनि कार्यक्रमका वक्ताहरुको कुरा सुन्दा नेकपाका नेता कार्यकर्ताका चरित्रलाई व्यंग्य गर्दै नेकपा डोटीका अध्यक्ष मल्लले पार्टीभित्र छारे रोग र हल्लिने रोग लागेको बताए ।

त्यस्तै नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य नारद मलासीले नेकपाका नेता कार्यकर्ता र जनप्रतिनिधीहरुले बोल्दा र व्यवहार गर्दा संयमितता अपनाउनु पर्ने धारणा राखे ।

पार्टीको विधि र पद्धती विपरित सडक, होटल, चोक र सामाजिक सञ्जालमा आफ्नै नेता, कार्यकर्ता र जनप्रतिनिधि विरुद्ध प्रस्तुत हुने, गालिगलौंच गर्ने, विवादको दोहोरी खेल्ने कुरालाई कुपुतको संज्ञा दिँदै त्यस्ता कुपत बार्नुपर्नेमा जोड दिए ।

साथै दिपायल सिलगढी नगरपालिकाका जनप्रतिनिधिहरुले कुनै चम्चा (कुरा लगाउने) का कुरा नसुनेर यथार्थ के हो बुझ्न र साझा व्यक्तिको व्यवहार देखाउन पनि आग्रह गरे ।

त्यस्तै अर्का प्रदेश कमिटि सदस्य गणेशदत्त भट्टले नेकपाका नेताहरुले अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई ल्याइते, ब्याईते भन्न व्यवहार हुनु दुःखद भएको बताए ।

त्यसै गरी अर्का प्रदेश कमिटि सदस्य तथा दिपायल सिलगढी नगरपालिकाका पूर्व उप–मेयर प्रेमबहादुर शाहले पार्टी व्यक्तिवादी ढंगले चलेको, आफ्नै पार्टीका नेताले आफ्नै पार्टीका नेतालाई उत्तेजित पार्न नहुने र यसबाट सकारात्मक नतिजा नआउने तथा जनप्रतिनिधीहरुबाट समन्वयको कमि रहेको बताए ।

त्यस्तै अर्का वक्ता नेकपा डोटीका सचिव जंग बिक ‘शैलेन्द्र’ले नेपाल कम्युनिष्ट पार्टी जातीय, वर्गीय, सामाजिक विभिन्न विभेद चिर्दै अगाडी बढेको पार्टी भएकाले सबैले पार्टी के हो भन्ने बुझ्नु जरुरी रहेको बताए ।

दुई पार्टी एक भएर नेकपा बनेको अवस्थामा अहिले नै नेकपाको समाजवादको कार्यदिशा तय भई नसकेको र अन्तिम लक्ष्य समाजवाद नै रहेको सचिव बिकले बताए ।

त्यस्तै कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाले गरेका कामकारबाही र प्रगतिबारे पार्टीलाई जानकारी गराउँदै नगरप्रमूख मञ्जु मलासीले आफुहरु स्थानीय तहमा निर्वाचित भइसकेपछि थुप्रै काम भएको बताईन् ।

त्यस्तै नेकपाबाट जितेका नगरका वडा नं. १, ५, ६, ७ र ९ का वडा अध्यक्षहरुले पनि वडामा भए गरेका कामबारे पार्टीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै नेकपाका युवा जनार्दन जोशीले अहिले नेकपा दुई खालका ‘अति’ बाट अघि बढिरहेको बताए ।

जोशीले एउटा अति जनप्रतिनिधीहरुको र अर्काे अति जनप्रतिनिधीभन्दा माथिका नेता र तलका कार्यकर्ताहरुको भएको बताए ।

त्यस्तै नेकपाको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य नरेश मलासीले देश निर्माणको महत्वपूर्ण हिस्सा युवाहरुको काँधमा रहेको र युवाहरुलाई निर्वाचनमा ढालको रुपमा मात्रै प्रयोग गर्ने नभई हरेक विकास निर्माणका कार्यमा निर्णायक भूमिका दिनुपर्ने बताए ।

कार्यक्रमको समापन गर्दै नेकपा दिपायल सिलगढी नगर संगठन कमिटि अध्यक्ष कर्ण बहादुर बिष्टले पार्टीलाई मजबुद बनाउन एकआपसमा कुरा काट्ने भन्दा पनि सिद्धान्त र विचारमा परिपक्व भई कम्युनिष्टको परिचय दिनसक्नुपर्नेमा जोड दिए ।

पार्टीभित्रका विकृति, विसंगतीको अन्त्य गर्दै अगाडी बढ्न उनले सबैमा आग्रह समेत गरे ।

यसैबीच नेकपा दिपायल सिलगढी नगर संगठन कमिटिले पार्टीको संगठन विस्तार र सदस्यता नविकरणको कार्यतालिका तयार पारेको छ ।

सो बैठक तथा कार्यक्रमबाट तयार पारिएको कार्यतालिका अनुसार यहि असोज १८ गते वडा नम्बर १, २० गते वडा नम्बर २, २२ गते वडा नम्बर ३, २४ गते वडा नम्बर ४, २६ गते वडा नम्बर ५, २८ गते वडा नम्बर ६, ३० गते वडा नम्बर ७, कार्तिक २ गते वडा नम्बर ८ र कार्तिक ३ गते वडा नम्बर ९ मा कार्यक्रम आयोजना हुनेछ ।
यसैबीच सोहि कार्यक्रममा दुई जना व्यक्ति सम्मानित भएका छन् ।

विश्वव्यापी महामारी कोरोनाका कारण गरिएको लकडाउन अवधिमा भारतबाट आउने मानिसहरुलाई आफ्नो ज्यानको जोखिमको प्रवाह नगरी कैलालीको भन्सार नाकामा बसेर दिपायल सिलगढी नगरपालिकाका नगर बस तथा अन्य बसको प्रबन्ध मिलाई मानिसहरुलाई पठाउन खटेकोमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य नरेश मलासी सम्मानित भएका हुन् ।

स्तै वि.सं. २०५४ सालमा साविकको खातिवडा गाउँ विकास समिति वडा नम्बर ५ मा (हाल दिपायल सिलगढी न.पा.को वडा नम्बर २ मा गाँभिएको) तत्कालिन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित पदमबहादुर कठायतलाई पनि सम्मान गरिएको हो ।

यसैबीच उक्त कार्यक्रमबाटै दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका ५७ जना नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपाले जनाएको छ ।

उनीहरुलाई नेकपा डोटी अध्यक्ष चक्र मल्ल, मेयर मञ्जु मलासी, नेकपा नगर संगठन कमिटि अध्यक्ष कर्ण बिष्ट लगायतले अबिर टिका र सदस्यता वितरण गरेर पार्टीमा स्वागत गरेका थिए ।

नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा सहभागि विभिन्न व्यक्तिहरुले सुझाव तथा गुनासाहरु समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्