सुदूरपश्चिमका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु


ओकेजनता डेस्क
१० आश्विन २०७७, शनिबार

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण सुदूरपश्चिम प्रदेशमा शनिबार तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली, बैतडी र बझाङका एक–एक जना पुरुष रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । भारतबाट फर्किँदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतक बोहराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको बताए ।

त्यस्तै भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनमा मृत्युपछि संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । मृतक ती युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका थिए ।

उनमा मृत्यु पश्चात शनिबार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । ती पुरूषलाई सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो ।

यसैगरी बझाङ घर भइ काठमाडौँमा कार्यरत सैनिक जवानको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

गत मंगलबार छारे रोगको लक्षण देखिएपछि आइसीयूमा भर्ना गरिएका उनलाई बिहीबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बझाङको छबिसपाथिभेरा–१ घर भएका उनी महेन्द्र दल गण नागार्जुन काठमाडौँमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्