सिसडोलले धान्न सक्दैन, उपत्यकाको फोहोर !


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

काठमाडौं । गत हप्ता काठमाडौंबाट फोहोर बोकेर औखरपौवा (सिसडोल) गएका गाडीले फोहोर फाल्ने ठाउँ नै पाएनन् । काठमाडौं उपत्यकाभित्रको फोहोर बिर्सजन गर्न गएका गाडीलाई ठाउँ दिन नसकेपछि काठमाडौं महानगरपालिकालाई सास्ती भयो ।

विगतमा पुरेर बाँकी रहेका केही खोल्साखाल्सीमा डोजर चलाएर अली(अली ठाउँ निकालियो । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ अब सिसडोलको ल्यान्डफिल साइटमा नयाँ ठाउँ निकाल्न नसकिने बताउँछन् । ‘अब सिसडोलमा फोहोर फाल्न पर्याप्त ‘स्पेस’ छैन । विगतमा अधिग्रहण भएको बचेखुचेका कुनाकानी पनि भरिसक्यो,’ उनले सुनाए ।

सिसडोलको चरम उपयोग भइसकेको भन्दै श्रेष्ठले अब आउँदो वर्षातसम्म विकल्प तयार नगरिए काठमाडौ उपत्यकाबाट फोहोर उठ्न नसक्ने बताए । यो वर्षको वर्षायाममा लकडाउनका कारण होटल तथा रेस्टुरेन्टबाट निस्कने फोहोर लगभग बन्द थियो । धेरै श्रमिकले काठमाडौं छाडेकाले घर तथा कोठाहरुबाट पनि फोहोर पनि घट्यो । श्रेष्ठका अनुसार विगतकै दरमा फोहोर निस्किएको भए यही वर्षायाममा काठमाडौंको फोहोर फाल्ने ठाउँको अभाव हुने थियो । गत हप्ता केही दिन नियमित वर्षा भएपछि सिसडोलमा समस्या बल्झिएको हो ।

‘हामी सिसडोलमा जबरजस्ती फोहोर व्यवस्थापन गरिरहेका छौं, यसरी काम गर्दा समय(समयमा समस्या आइरहन्छ,’ वातावरण विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘अब सिसडोलको उपयोगको अवस्था चरम विन्दुमा पुग्यो, फोहोर पुर्न नयाँ ठाउँ छैन ।’ शहरमा निषेधाज्ञाका कारण पनि अहिले ठूलो मात्रामा फोहोर उत्पादन भएको छैन । तर, पनि फोहोर फाल्ने ठाउँ नै नभएपछि व्यवस्थापन गर्न महानगरपालिकालाई हम्मे(हम्मे परेको छ ।

सिसडोलमा १५ वर्षदेखि कोचाकोच

सिसडोलमा ल्यान्डफिल साइटको क्षमताले नभ्याएर धाँजा फाट्ने जोखिम आइसकेको महानगरका अधिकारीहरु बताउँछन् । साइटको क्षमता सकिएर पटक(पटक बढाइएको छ । अब क्षमता बढाउन पनि नसकिने भन्दै महानगरका अधिकारीले पटक(पटक सरकारलाई जानकारी गराएका छन् ।

सिसडोलको विकल्प नखोजिए काठमाडौंमा फोहोर नउठेर फोहोरकै प्रकोप सिर्जना हुने जोखिम रहेको महानगरका अधिकारीको आँकलन छ । ल्यान्डफिल साइट प्राविधिक रुपमा निकै कमजोर अवस्थामा सञ्चालन भइरहेकोले विकल्पका लागि भइरहेको काम तीव्र बनाउन महानगरको माग छ ।

२०६२ साल जेठ २२ गतेबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको तत्कालीन ककनी गाविस (अहिले ककनी गाउँपालिका) को ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । सो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थाल्दा साइटले ३ वर्ष धान्ने अनुमान थियो ।

ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्यान्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ । त्यस समयमा काठमाडौं महानगर र तत्कालीन ललितपुर उपमहानगर (अहिले महानगर) बाट दैनिक ३७५ मेट्रिक टनसम्म फोहोर पुग्ने गरेको थियो । यो परिणामलाई आँकलन गरेर ३ वर्षको क्षमता भनिएको थियो, तर क्रमश फोहोरको मात्रा बढ्दै गएको छ ।

तीन वर्षको अवधिमा दीर्घकालिन ल्यान्डफिल साइट बञ्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन सुरुवात गर्ने लक्ष्य थियो । तर, लक्षित समयको १२ वर्षपछि अर्थात् अहिले २०७७ सालसम्म पनि बञ्चरेडाँडाको पूर्वाधार बनेको छैन ।

स्थानीय र सरोकारवालावीच समन्वय नमिल्दा तथा असमझदारी बढ्दा १२ वर्षका बीचमा कयौंपटक फोहोर बोकेर गएको गाडीलाई अवरोध भएको छ । कुनै समयमा लगातार ४ महिनासम्म फोहोर फाल्न अवरोध भएको थियो ।

बञ्चरेडाँडामा किन भयो ढिलाई ?

सिसडोल भरिन लागेपछि धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले निर्माण गरिरहेको ल्यान्डफिल साइटको निर्माणको गति सुस्त छ । लकडाउनमा निर्माण सामग्री उपलब्ध नभएको बहानामा काम रोकेर राखिएको छ ।

शहरी विकास मन्त्रालय अधिकारीहरु गत साउनबाट बञ्चरे डाँडामा फोहोर व्यवस्थापन सुरु गर्ने भनिए पनि काम नसकिएको बताउँछन् । ठेकदारले सम्झौताअनुसार काम नगर्दा समस्या भएको उनीहरुको तर्क छ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन थालेपछि मात्रै सिसडोल ल्यान्डफिल साइटको ‘पोष्ट क्लोजर’ गर्न सकिन्छ ।

फोहोर व्यवस्थापन गर्न बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न ०७६ बैशाख २२ गते लुम्बिनी(कोशी एण्ड न्यौपाने जेभसँग ठेक्का सम्झौता गरिएको थियो । एक वर्षभित्र काम सम्पन्न गर्ने भनिएको थियो । भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा सम्झौता गरिएको हो ।

सम्झौता भएपछि कोशी एण्ड न्यौपानेको स्वामित्व परिवर्तन भयो । यही कारण क्लालिटी एस्युरेन्स प्लान (क्युएपी) र मोबिलाइजेसन बापत ठेकदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरण कम्पनीले समयमै बुझाउन सकेन ।

गत पुस २२ गते ठेकदारले परिवर्तित कार्यतालिका पेश गरेको थियो । तर, पेश गरेको तालिकाअनुसार काम हुन सकेन । निर्माण पक्षबाट समयमा काम नभएपछि ल्यान्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्ने चिन्तामा महानगरका अधिकारीहरु छन् । शहरी विकास मन्त्रालय यस विषय गम्भीर नहुँदा समस्या महानगरले भोग्नुपरेको विभागीय प्रमुख श्रेष्ठ बताउँछन् ।

कति निस्किन्छ फोहोर ?

सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक करिब १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले ओखरपौवा स्यानिटरी ल्यान्डफिल्ड साइटमा पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्यांक हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको थप फोहोर पनि छ । यसको तथ्यांक यकिन छैन । मेट्रिक

१ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पु¥याइन्छ ।

उपत्यकाका गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५र३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्यांकले देखाउँछ ।

चन्द्रागिरी, महालक्ष्मी र मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०र३० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । गोदावरी रसूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५र२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५र१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ ।

शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगर क्षेत्रको फोहोर पनि ल्यान्डफिल साइटमा आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्