नर्सको पीडा : ट्वाइलेटभित्र पस्दा पनि छोडेन


ओकेजनता डेस्क
१४ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए ।

कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति एकजना संक्रमितले ज्यान गुमाए । त्यही बिरामीको मृत्युले उनको जीवनमा कहिल्यै नमेटिने नमिठो छाप दिएको छ । लाख प्रयास गर्दा पनि बिरामीलाई जोगाउन नसक्दाको पीडा त छँदैछ त्यसमाथि बिरामीका आफन्तले गरेको व्यवहारले झन् बढी पीडा दिएको छ ।

बिरामीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले डाक्टर र नर्सहरुमाथि हातपात गर्न थालेपछि सदीक्षासहित चिकित्सक र नर्सको टोली ट्वाइलेटभित्र लुकेर बसे । आक्रमणकारी त्यहाँ पनि जाइलागेपछि उनीहरुले ट्वाइलेटको झ्यालबाट बाहिर हामफालेर ज्यान जोगाए ।

कोरोना महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवामा खटिँदा बिरामीको आफन्तबाट भएको यो व्यहारले उनीलाई असह्यै पीडा दिएको छ । बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाको उनले सेयर गरेकी छन्–

मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए । बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो ।

आश्विनी दिदीले भेन्टिलेटर जोड्नु भएको रहेछ । तर पनि बिरामीमा अक्सिजन मेन्टेन हुन सकिरहेको थिएन । कुरुवाले मेरो बिरामीलाई मार्ने भयो भन्दै चिकित्सक तथा नर्सहरुलाई टर्चर दिइरहनु भएको थियो । मेरो बिरामीलाई केही भयो भने कसैलाई छोड्दिन भन्दै उनले धम्की दिइरहेका थिए ।

अन डियूटीमा रहेका दुई जना डाक्टर र चार जना नर्सहरु उनकै बिरामीको उपचारमा ब्यस्त थिए । उनलाई बचाउन सबै प्रयास जारी राखेका थियौं । तर पनि हामीले बचाउन सकेनौं । उनको मृत्यु पुष्टि गर्नका लागि ईसीजी गर्ने तयारी भइरहेको थियो ।

त्यही वार्डमा अर्का एकजना बिरामी पनि गम्भीर थिए । उनको पनि स्वास्थ्य अवस्था खस्कँदै गइरहेको थियो । हाम्रो टिममा रहेका डाक्टर र नर्सहरु उनलाई हेर्न त्यता जानुभयो । म भने उनको ईसीजी गर्न तयारी गर्दै थिएँ ।

एक्कासी ६/७ जनाको समूह वार्डमा प्रवेश गरे । उनीहरुले मेरो घाँटी अठ्याउन थाले । त्यही बेला बिरामीका एकजना कुरुवा दाइ मेरो अगाडि आएर उनीहरुबाट बलतल्ल छुटाउन सफल भए । म अत्तालिँदै डाक्टर भएको ठाउँमा पुगें ।

उनीहरु लखेट्दै आइरहेका थिए । बिरामीको उपचारमा व्यस्त चिकित्सक र नर्सहरुले मलाई उद्धार गरेर क्याविनमा लिएर गए । तर पनि त्यो समूहले क्याविनमा तोडफोड गर्न छाडेन । क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे ।

त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं । त्यही बेला हामी सबैको ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपीरहेको थियो । म रोइरहेको थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए । अन्ततः झ्याल फोडेर हामफाल्न तयार भयौं । तर मलाई हाम फाल्ने आँट नै आएन ।

डा. चन्द्रप्रकाश शाहुले मलाई हाम फाल्न फोर्स गरिरहनु भएको थियो । मलाई छाडेर पनि उहाँहरु हाम फाल्न सकिरहनु भएको थिएन । मलाई डा. शाहुले झ्यालमा उचालेर राखिदिनुभयो । उनीहरुको आक्रोश थप बढ्दै गइरहेको थियो । ढोका नै फोडेर भित्र पस्न थालेपछि डा. शाहु, नर्सहरु आश्विनी गुरुङ, बन्दना श्रेष्ठसहित हामी हाम फाल्न बाध्य भयौं ।

रातिको त्यो कहाली लाग्दो र त्रासदीपूर्ण दृश्य मेरो मानसपटलमा अहिले घुमिरहेको छ । त्यो सम्झिँदा म कसरी एकतला माथिबाट हाम फालें होला भनेर आफैंलाई विश्वास लागिरहेको छैन । त्यति माथिबाट हाम फाल्दा पनि कसरी बाँचे होला भनेर आफैंलाई विश्वास गर्न गाह्रो लागिरहेको छ ।

विकल्प पनि थिएन हामीसँग । उनीहरुको त्यो आक्रोश, त्यो आतंकित व्यवहार निकै डरलाग्दो थियो । यस्तो आतंकपूर्ण अनि त्रासदीपूर्ण वातावरण कोभिड वार्डभित्र झण्डै एक घण्टा नै चल्यो होला । यो अवधिमा सबैजना आ–आफ्नो ज्यान बचाउन वार्डभित्रै भागदौड मच्चियो ।

एकतला माथिबाट हामफालेकाले हुन सक्छ अहिले मेरो शरीरको पछाडि पेन भइरहेको छ । घाँटीमा पनि निलो डाम परेको छ । सँगै हामफाल्नु भएका स्वास्थ्यकर्मीहरुले पनि खुट्टा दुखिरहेको बताइरहेका छन् । सबै जनालाई बाहिरी चोटपटक छैन ।

नर्सिङ पेशामा लागेर राम्रै गर्छु भन्ने आत्मविश्वास ममा थियो । आफ्नो पेशा प्रति म सधैं इमान्दार नै थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाले रातभर निदाउनै सकिन । रातभर त्यही त्रासदीपूर्ण दृश्य आँखा वरपर झलझली आइरह्यो ।

जति भुल्ने प्रयास गरेपनि सकि रहेको छैन । बिरामी कुरुवा दाईले मेरो उद्धार नगरेको भए मेरो ज्यानै जान्थ्यो होला । त्यो घटनाले मलाई अहिले यो पेशामा किन लागेछु, मेडिकल लाइन किन रोजेछु भन्ने लागेको छ ।

यो घटनाले इमोश्नल रुपमा बलियो पनि बनाएको महसुस गरेको छु । अरुको ज्यान बचाउने पेशामा लाग्दा यसरी एकतला माथिबाट हाम फालेर आफ्नै ज्यान बचाउनुपर्ने दिन आउँछ होला भनेर कल्पना पनि गरेको थिइनँ ।

यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउने स्वास्थ्यकर्मीमाथि हुने यस्तो सांघातिक हमलाले सबै स्वास्थ्यकर्मीको मनोवल गिराएको छ । स्वास्थ्यकर्मीलाई मनोवल उच्च बनाउन हौसला दिनुपर्ने बेलामा स्वास्थ्यकर्मीमाथि नै ज्यानमार्ने उद्देश्यले सांघातिक हमला हुनु दुःखदायी हो ।

त्यसैले यस घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सक्नु पर्छ । मनोवल गिरेका स्वास्थ्यकर्मीहरुले कसरी बिरामीको उपचार गर्न सक्छ ? त्यसैले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सकेमात्रै स्वास्थ्यकर्मीमाथि भोलिका दिनमा यस्तो घटना दोहोरिने थिएन ।

प्रतिक्रिया दिनुहोस्