पाल्पा पहिरो : पाँचैजनाको शव भेटियो


ओकेजनता डेस्क
१० आश्विन २०७७, शनिबार

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।

गएराति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीका अनुसार गएराति घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको छ ।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको थियो ।

वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन । शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खोजी कार्यमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्