एमालेमा आएका पूर्वमाओवादी नेता फर्किदै, यस्तो भयो सहमति


ओकेजनता डेस्क
३ जेष्ठ २०७८, सोमबार

काठमाडौं । दुई अलग संगठनात्मक संरचनामा चलिरहेको नेकपा एमालेलाई एउटै बनाउन आइतबार दश सदस्यीय कार्यदल बनेको छ ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच सिंहदरबारमा भएको ‘वान अन वान’ छलफलबाट दुवै तर्फका पाँच/पाँच जना रहनेगरी कार्यदल बनाइएको छ ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल तर्फबाट भीम रावल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र रघुजी पन्त छन् । ओलीसँग यसअघि भएका वार्तामा सहभागी नेताहरूलाई नै नेता नेपालले कार्यदलमा राखेका छन् । शुक्रबार पनि ओली पक्षसँग यिनै नेताहरू सहित नेपाल वार्तामा बसेका थिए ।

तर, ओलीले त्यसदिनको वार्तामा सहभागी नभएका प्रदीप ज्ञवाली र शंकर पोखरेललाई समेटेर रामबहादुर थापा (बादल) राखेनन् । शुक्रवार बादल र अर्का नेता ईश्वर पोखरेल पनि सहभागी थिए । अर्थात् बादल नरहेपछि यो कार्यदलमा २ जेठ २०७५ अगाडिका एमाले नेताहरू मात्रै सदस्य रहे । यो हेरफेरलाई चासोका साथ हेरिएको छ ।

तर सार्वजनिक रूपमा भने दुवै पक्षका नेताहरू यसबारे बाल्न चाहदैनन् । ‘यो ठूलो महत्वको कुरा होइन । पार्टी एकता बचाउन जरूरी छ ।

कार्यदलमा रहेका साथीहरुले सबै नेताहरुको परामर्श लिएरै उपयुक्त प्रस्ताव ल्याउने हो’, ओली तर्फका एक नेता भन्छन् । २३ फागुन यताका घटनाक्रम हेर्ने हो भने चाहिँ बादल सहित माओवादी पृष्ठभूमिका नेताहरू पुनर्स्थापित एमालेको कलहको एक महत्वपूर्ण ‘फ्याक्टर’ रहेको लुक्दैन ।

शनिबार भएको नेपाल समूहका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा समेत छलफलको विषय बनेको थियो– बादलको उपस्थिति । नेता नेपाललाई उनी निकट केन्द्रीय सदस्यहरुले बादल सहितको बार्तामा सहमति गरिनुको सन्देशबारे प्रश्न गरेका थिए ।

भर्चुअल बैठकमा सहभागी एक नेता भन्छन्, ‘बादल सहित भएको वार्ताबारे प्रश्न उठेपछि माधव नेपालले यसलाई ठूलो नठान्न आग्रह गर्नुभयो ।’संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि यो ठूलो कुरा नभएको बताउँछन् । ‘कतिपय साथीहरुलाई समस्या लागेको हुनुपर्छ । तर त्यस्तो बुझाइको ठूलो अर्थ हुन्न’, उनी भन्छन् । जबकी बादल सहभागी भएको शुक्रबारको वार्ताबाट एमालेलाई २ जेठ २०७५ कै अवस्थामा फर्काउने सहमति भएको छ ।

माओवादी छोडेका बादल सहित २३ जनालाई २८ फागुनमै अध्यक्ष ओलीले एमाले केन्द्रीय कमिटीमा मनोनित गर्दै महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई गएको १० वैशाखको बालुवाटार बैठकबाट स्थायी कमिटीमै राखिएको छ । तर अहिले यिनै माओवादी पृष्ठभूमिका नेताहरूको व्यवस्थापन एमालेको पुनर्मिलनमा समस्या देखिएको छ ।

रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी र मणि थापा
किनभने, २ जेठ २०७५ को अवस्थामा एमाले फर्काउने निर्णयले माओवादी पृष्ठभूमिका नेताहरू समेटिदैनन् । तर ओलीले भने प्रतिनिधिसभा विघटन गर्ने ५ पुसको निर्णयमा साथ दिएका माओवादी पृष्ठभूमिका नेताहरू बाहिर राखेर कुनै निर्णय नलिने अडान लिदै आएका छन् ।

कतिसम्म भने २८ फागुनको बैठकबाट ओलीले आफूलाई साथ दिएका माओवादी पृष्ठभूमिका नेताहरुलाई समेट्न माधव नेपाल समूहका नेताहरुलाई भूमिका विहीन बनाउनेदेखि नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गर्नेसम्मका निर्णय गरेका थिए ।

त्यही बैठकबाट झस्किएका नेपाल समूहले पनि (४–५ चैतमा) आफ्नो समूहका राष्ट्रिय कार्यकर्ता भेला गरी समानान्तर पार्टी संरचना तयार पारेका छन् । समानान्तर संरचना बनाएको भन्दै ओलीले माधव समूहका ३० सांसदलाई स्पष्टीकरण लिने र चार नेतालाई कारबाही गरेका थिए ।

माधव समूहले पनि अदालतको फैसला अनुसार २ जेठ २०७५ कै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान सहित पार्टी र संसद्मा समानान्तर गतिविधि रोकेनन् ।

कर्णालीमा फ्लोर क्रस गरेर माधव समूहका चार सांसदले माओवादी नेता महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद नै जोगाइदिए । लुम्बिनी र गण्डकी प्रदेशमा पनि कर्णालीमा जस्तो निर्णयको तयारीमा माधव समूह थियो ।

तर, २७ वैशाखमा प्रतिनिधिसभामा माधव नेपाल सहित २८ सांसद अनुपस्थित भएर ओलीलाई विश्वासको मत नदिए पछि एमाले राजनीतिको कोर्स नै फेरिन पुगेको छ ।

औपचारिक विभाजनको पर्खाइमा देखिएको एमाले फेरि एकताबद्ध बनाउन कार्यदल गठन गर्ने तहकै यूटर्न भएको छ । कारबाही फुकुवाको ओलीले २७ वैशाखमा नै निर्णय गरेका छन् भने माधव समूहको सांसदहरुको राजीनामा रोकिँदा एमाले नेतृत्वको सरकार समेत जोगिएको छ ।

‘एमाले मिलिसकेपछि संगठन पनि एउटै बनाउनु पर्‍यो । त्यसैका लागि कार्यदल बनाइएको हो’, प्रमुख सचेतक विशाल भट्टराई भन्छन् । कार्यदलले एउटै पार्टी संरचना बनाउनेगरी प्रस्ताव ल्याउने उनी बताउँछन् । यद्यपी, कार्यदलले गर्ने कामको ‘टीओआर’ भने दिइएको छैन ।

तर ‘२ जेठ २०७५ कै अवस्थामा एमाले उभ्याउन कार्यदल किन आवश्यक पर्छ’ भन्ने प्रश्न पनि एमालेभित्र उठेको छ । यसबारे नेताहरुले प्रष्ट जवाफ दिएका छैनन् । एक नेता भन्छन्, ‘पार्टी भित्रको अवस्था पनि हेर्नुपर्छ । माओवादी छोडेर आउनु भएका नेताहरुको पनि कुरा छ । सबैलाई समेटेरै अगाडि बढ्ने हो ।’

अर्थात्, माओवादी पृष्ठभूमिका नेताहरु सहितको एमाले एकताको प्रयासकै निम्ति थप प्रक्रिया अगाडि बढाइएको देखिन्छ । स्रोतका अनुसार, माओवादी पृष्ठभूमिका बादल सहित स्थानीय तहसम्मकै नेताहरु समायोजन गर्न माधव नेपाल समेत तयार छन् ।

त्यसैले त्यसको सहज माध्यमको खोजी अन्तर्गत नै कार्यदल बनाइएको बुझ्न सकिन्छ । ‘अलग संगठन संरचनाको अभ्यास शुरु भइसकेकाले एमाले पुनर्मिलन पनि समस्या नै छ । माओवादीबाट आउनु भएका साथीहरुको व्यवस्थापन पनि थप कुरा हो’, नेपाल निकट केन्द्रीय सदस्य ठाकुर गैरे भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्