ओलीबारे बाबुराम भट्टराईले गरे नयाँ खुलासा


ओकेजनता डेस्क
२ जेष्ठ २०७८, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा अस्वीकार गरेका खुलासा गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेको भट्टराईले आइतबार बिहान ट्वीट गर्दै देशलाई निकास दिन प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताए ।

तर वर्तमान / पूर्व​ प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव ओलीले अस्वीकार गरेपछि उक्त कुरा अरुलाई नभनेको भट्टराईको भनाइ छ ।

भट्टराईले बैशाख २८ गते राति ओलीलाई भेटेका थिए । उनले २९ गते विहान ट्वीटर मार्फत देशको संकट हल गर्न चार प्रस्ताव अगाडि सारेका थिए ।

एमाले नेता महेश बस्नेतले शनिबार एक टेलिभिजन अन्तर्वार्तामा भट्टराईले ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएपछि उनको उक्त कुरा खुलाएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो- महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो। वहॉले नमानेपछि अरूलाई नभनेको हुँ ।’

अझै पनि धारा ७६ (५) बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने भट्टराईको भनाइ छ । काँग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन नसकेपछि ओलीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाएका छन् ।

उनले ३० दिनभित्र बहुमत सिद्ध गर्ने नसकेको खण्डमा संविधानको धारा ७६ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रतिनिधिसभाको सांसदले प्रधानमन्त्रीमा दाबी गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्