माधव नेपाल पक्षले गर्यो सरकारमा जाने/नजाने निर्णय


ओकेजनता डेस्क
३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं । एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नबन्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नबन्ने भएको हो ।

बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् । आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

‘मन्त्रिमण्डल कत्रो बनाउने र को को सहभागी हुने भन्ने प्रधानमन्त्रीज्यूले आन्तरिक छलफल गरिरहनुभएको छ,’ नेता नेम्वाङले रातोपाटीसँग भने, ‘सकभर सबै पक्षलाई समेट्ने भन्ने नै छ ।’

त्यसका लागि प्रधानमन्त्री ओलीले जसपा र माधव समुहका नेताहरुलाई सरकारमा सहभागी बन्न आग्रह गरेको बताइएको छ । तर, एमालेको माधव समुहले भने प्रधानमन्त्री ओलीलाई तत्काल सरकारमा सहभागी नबन्ने प्रष्ट पारेको माधव नेपाल निकट स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्रीले सरकारमा सहभागी बनौँ भनेर प्रस्ताव गर्नु स्वभाविक हो तर हामी तत्काल त्यो पक्षमा छैनौ’, नेता नेपाल निकट स्रोतले भन्यो, ‘पार्टीभित्रका समस्या समाधान नभई सरकारमा जाने कुरै छैन ।

पाटीभित्रका अन्तरविरोधहरु मिलाउन उहाँ (प्रधानमन्त्री) जेठ २ गतेमा फर्कने भन्ने कुरा छ त्यो विषयमा कंक्रिट सहमति नहुँदासम्म सरकारमा जाने कुनै सम्भावना हुँदैन ।’

संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी राजनीतिक दलहरुले सरकार गठन गर्न नसकेपछि पुनः एमाले अध्यक्ष केपी शर्मा ओली नै धारा ७६ को ३ अनुसार ठुलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

तीन दिनसम्म ७६ को २ अनुसार सरकार गठन गर्न गृहकार्य गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच एकमत बन्न नसक्दा ओलीले पुन: तेस्रो पटक प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

एमालेको माधव समुह र जसपा समेत तत्काल सरकारमा सहभागी नभए ओलीले आफु पक्षका केही नेतालाई पहिलो चरणमा मन्त्रि बनाउने तयारी गरेका छन् । पहिलो चरणमा ओलीले विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा, बसन्त नेम्वाङ लगायतलाई समेट्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्