बोगटानमा कोरोनाबाट बच्न सिड नेपालको सहयोग


ओकेजनता डेस्क
९ आश्विन २०७७, शुक्रबार

काठमाडौं । डोटीको बोगटान–फुडसिल गाउँपालिकाले पालिकाको वडा नम्बर ७ स्थित चवरा चौताराका एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, गर्भवती महिला र टुहुरा बालबालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

वडा नम्बर ७ का २५ घरधूरीले स्वास्थ्य सामाग्री पाएका हुन् । युएमएनको आर्थिक सहयोगमा समान पहुँच विकास केन्द्र (सिड नेपाल)द्वारा बोगटान गाउँपालिकामा सञ्चालित कार्यक्रम अन्तर्गत आधारभुत स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

कार्यक्रम संयोजक नरेन्द्र रोकायाका अनुसार २५ घरधूरीलाई मास्क, स्यानिटाइजर, हेन्डवास लिक्विडलगायतका सामाग्री वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिला, उपाध्यक्ष भगवती देवी बम, वडाध्यक्ष देबबहादुर बम, कार्यपालिका सदस्य शंकरमान सुनार, सिड नेपाल परियोजना संयोजक नरेन्द्र रोकाया, परियोजना संयोजक रुद्र बम लगायतको उपस्थितिमा कोरोना जोखिम कम गर्न र सुरक्षित व्यवहार अपनाउन सल्लाहसहित स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

समान पहुँच विकास केन्द्र (सिड नेपाल)ले यसअघि पनि बोगटान–फुडसिल गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । सिडले कार्यक्रम लागू भएका डोटीका विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।

ओकेजनतालाई कमल बमद्वारा जानकारी

प्रतिक्रिया दिनुहोस्