माधव नेपाललाई देउवाले यसरी हेरेपछि…


ओकेजनता डेस्क
२५ बैशाख २०७८, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस नयाँ गठबन्धन निर्माणका साथै त्यसलाई सफल बनाउन तीव्र कसरतमा रहेको छ ।

सोहीअनुसार काँग्रेस सभापति शेरबहादुर देवासहितका नेताहरु माओवादी केन्द्र,नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग घनिभूत छलफलमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएपछि काँग्रेस देउवाले राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका छन् ।

देउवाले ओली सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीतिका साथ केही दिनयता राजनीतिक भेटघाटलाई तीव्रता दिएको बुझिएको छ । जसअनुसार देउवासँग काँग्रेस र अन्तर पार्टीका नेताले भेटघाट गरिरहेको देखिन्छ ।

बुधबार आफ्नै निवास बूढानीलकण्ठमा भेट्न पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत दिन नसक्ने जवाफ दिएर फर्काएका थिए भने बिहीबार र शुक्रबार एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर गठबन्धन दरिलो बनाउन पहल थालेका थिए । यद्यपि गठबन्धन सफल बन्नेमा देउवा अझैपनि विश्वस्त भने हुन सकिरहेका छैनन् ।

काँग्रेस नेता एनपी साउदले विविध कारणले गठबन्धनले पूर्ण आकार ग्रहण गर्न नसकेको स्वीकारे । त्यसको मुल कारण एमालेको माधव कुमार नेपाल समूहको भूमिकामाथि उठेको प्रश्न नै हो ।

साउदका अनुसार लगातार बूढानीलकण्ठमा चार दलको गठबन्धन निर्माणको कोशिस त भइरहेको छ । तर जसपाभित्रको मत विभाजन र नेता नेपालमाथिको आन्तरिक दबावले गठबन्धनले पूर्ण आकार ग्रहण गर्न नसकेको हो ।

‘जसपामा स्पष्ट विभाजन छ । माधव नेपाल प्रेसरमा पनि हुनुहुन्छ । यसले केही जटिलता देखिएको छ,’ साउदले रातोपाटीसँग भने ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बारेमा माधव नेपाल सकारात्मक भए पनि व्यक्तिगत प्रतिबद्धताले परिणाम दिन नसकेको साउदको बुझाइ छ ।

 

‘माधव नेपालले व्यक्तिगत प्रतिबद्धता जनाउनु भएको छ । तर उहाँले आफ्नो स्ट्रेन्थ र आइडेन्टिटीलाई सेफ गोलमा रुपान्तरण गर्दा उहाँसँग भएको टीम असुरक्षित हुन्छ । उहाँले एउटा सेटलमेन्ट खोजि राख्नुभएको जस्तो छ,’ साउदले रातोपाटीसँग भने, ‘ओलीजी हटाउने बारेमा माधवजी सकारात्मक नै हुनुहुन्छ । तर ओलीजी हटाउनका लागि उहाँहरुको भूमिका के हुने भन्ने कुरा प्रस्ट हुनसकेको छैन ।’

उनका अनुसार जसपा समेतले संस्थागत निर्णय गरेपछि मुलुक एउटा बाटोमा जान्छ । नभए स्थिति तरल नै रहन्छ ।

यस्तै काँग्रेस नेता मिनेन्द्र रिजालले माधव नेपाल पक्ष दोहोरो (देउवा र ओली) मा हुँदा विश्वासको वातावरण बन्न नसकेको संकेत गरे ।

‘सम्भावना सबै भयो भन्ने भयो । माधव नेपाल पक्षका दोस्रो तहका नेताले केपी ओली पक्षसँग छलफल गरिरहनुभएको छ ।

माधव नेपाल र केपी ओली भेट्ने कुरा पनि आइरहेको छ । हामीले भनेकै जस्तो हुने स्थिति पनि छैन,उनले भने, ‘त्यसैले राजनीति केपी ओलीतिरै जान्छ वा शेरबहादुर देउवा भन्नेमा फिप्टी फिप्टीको अवस्था छ । एकैतिर क्लियर संवाद भएको देखिएको छैन ।’

त्यसैले अब यस्तै हुन्छ भनेर क्लियर गर्न सकिने अवस्था नभएको उनले रातोपाटीसँग बताए ।

‘ओलीको कोर्टमा बल छ । ओलीले गर्नुभयो भने ठीकै छ गर्नुभएन भने हेरौँला भन्ने खालको माधव नेपालको नीति हो कि?,’ रिजालले भने । तर देउवा र माधव नेपालबीच बिहीबार भएको छलफलमा सकारात्मक नै कुराकानी भएको उनको भनाइ छ ।

राष्ट्रियसभामा काँग्रेस,माओवादी र माधव नेपाल पक्षबीच बनेको गठबन्धनका आधारमा सत्ता समीकरण बन्ने परिस्थिति निर्माण नभएको काँग्रेस नेताहरुको भनाइ छ ।

नेपाल पक्ष र काँग्रेसले एक अर्कालाई पूर्णविश्वास गरिसकेको अवस्था छैन । किनभने एकले अर्कासँग ग्यारेन्टी खोजिराखेको अवस्था छ ।

‘माधव नेपाल पक्षले सांसदबाट राजीनामा दिँदा केपी ओली प्रधानमन्त्रीबाट हट्नुपर्ने ग्यारेन्टी खोजेको छ । हामीलाई पनि अविश्वासको प्रस्ताव हाल्ने हो भने अविश्वास पास हुन्छ भन्ने ग्यारेन्टी चाहियो,’ रिजालले भने । यस्तो पृष्ठभूमिमा बाटो क्लियर नहुँदा काँग्रेस धर्म संकटको अवस्थामा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्