यसकारण लिदैछन प्रधानमन्त्रीले कठोर निर्णय


ओकेजनता डेस्क
२१ बैशाख २०७८, मंगलवार

काठमाडौं । धमाधम प्रदेश सरकारहरूमाथि अविश्वासको प्रस्ताव दर्ता र मतदानको प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते आफ्नै परीक्षण (विश्वासको मत ) लिने भएका छन् ।

२७ गते संसदमा हुने ओलीको परीक्षणपछि नेपालको राजनीति कुन दिशामा मोडिन्छ भन्ने कुराको समेत छिनोफानो हुने जानकारहरु बताउँछन् । त्यसैले पनि आगामी बैशाख २७ नेपालको राजनीतिका लागि अर्को महत्त्वपूर्ण दिन हुने विश्लेषकहरुको भनाइ छ ।

विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री बनेका छन् भने गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङले केही दिन भए पनि आफ्नो पद जोगाएका छन् ।

वैशाख २० गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुँदै गर्दा अघिल्लो दिन (१९ गते ) पोखरेलले पदबाट राजीनामा दिए र पुनः सोही दिन मुख्यमन्त्रीको सपथ लिए ।

​लुम्बिनीमा नाटकीयरुपमा भएको यो परिवर्तनका बेला प्रधानमन्त्री केपी शर्मा ओलीचाहिँ शीलतनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शमा थिए । लुम्बिनीमा मुख्यमन्त्रीले पुनः सपथ लिने र प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख २७ मा विश्वासको मत लिने निर्णय लगभग एकै समयमा भयो ।

​लुम्बिनीका मुख्यमन्त्री पोखरेलको विपक्षमा बहुमत देखिँदा देखिँदै पनि पोखरेलले पुनः मुख्यमन्त्रीको सपथ लिएरै छाडे । बहुमत भए पनि विपक्षीहरु हेरेको हेर्यै हुन बाध्य भए ।

यसअघि वैशाख १५ गते गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यतालिका तय भएको थियो । यो प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ स्पष्ट अल्पमतमा थिए । तर, मतदानका बेला अचानक विपक्षी गठबन्धनका एक सांसद बेपत्ता भए ।

 

जनमोर्चाका सांसद खिमविक्रम शाही वेपत्ता हुनुमा सत्तापक्षकै हात रहेको विपक्षीहरुले ठोकुवा नै गरे । सांसद वेपत्ता भएपछि सभामुखले निवेदनका आधारमा संसद बैठक स्थगित गरे । जसले गुरुङको मुख्यमन्त्री पद अहिलेसम्म जोगिन पुग्यो त्यहाँको बैठक बस्ने अझै निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्