बादललाई उपनिर्वाचनमा सकस : यस्तो छ अंकगणित


ओकेजनता डेस्क
११ बैशाख २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि राष्ट्रियसभा सदस्य पद खोसिएका गृहमन्त्री रामबहादुर थापा बादललाई केपी ओली नेतृत्वको एमालेले पुनः उम्मेदवार बनाएको छ । बादलका कारण खाली रहेको पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।

वागमती प्रदेशमा ‘अन्य समूह’ बाट पुनः चुनाव लड्न लागेका गृहमन्त्री बादलले यसअघि माओवादी र एमालेको संयुक्त मतबाट जितेका थिए । यसपालि उनी एक्लो एमालेका तर्फबाट मैदानमा खडा भएका छन् ।

जेठ ६ मा हुने उपचुनावमा बादलले कोसँग प्रतिस्पर्धा गर्ने भन्ने अझै टुंगो लागिसकेको छैन । किनभने, माओवादी, काँग्रेस लगायतका दलहरुले उम्मेदवार टुंगो लगाइसकेका छैनन् ।

निर्वाचन आयोगले निकालेको सूचनाअनुसार बैशाख १० देखि १४ भित्र उम्मेदवारी दिइसक्नुपर्नेछ । ओली नेतृत्वको एमालेले भने माओवादीको कारवाहीमा परेका बादललाई नै उम्मेदवार बनाएको छ ।

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपचुनावमा वागमती प्रदेशका प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखरहरुले मतदान गर्नेछन् ।

वागमती प्रदेशसभामा ११० जना सदस्य छन् । यस प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखको मत संख्या २३९ छ । प्रदेशसभा र स्थानीय तह दुबैमा नेकपा एमालेको एकल बहुमत छ । एमालेका सबै जनप्रतिनिधिले मत दिएको अवस्थामा बादल फेरि राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने निश्चित छ । ६ वर्षे कार्यकाल रहेका बादलको अब तीन वर्ष बाँकी छ ।

एमाले पार्टीभित्रको चरम अन्तरविरोधका कारण माधव नेपाल पक्षका जनप्रतिनिधिले बादललाई मत नदिई क्रस भोटिङ गर्ने सम्भावना पनि उत्तिकै छ । कर्णाली प्रदेशमा एमाले सांसदहरुले फ्लोर क्रस गरेपछि यस्तो आशंका जन्मिएको हो ।

प्रदेशसभाका कुल सदस्यमध्ये एमालेका सबैले बादललाई भोट दिएको अवस्थामा उनले ५७ मत पाउन सक्छन् । एमाले बाहेकका सबै दलको मत जोड्दा ५३ मात्रै पुग्छ । तर, विपक्षीले साझा उम्मेदवार उठाए र माधव नेपाल पक्षका ४÷५ जना प्रदेश सांसदले तलमाथि गरे भने बादल अल्पमतमा पर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्